Sunday, November 25, 2012

शब्दहार र सहयात्री -By Ramesh Kandel


Shabdahar Creations Pvt. Ltd.
साहित्यिक तथा मिडिया क्षेत्रमा काम गर्न केही असजिलो भए पनि समाज सँग प्रत्यक्ष सम्बन्ध राख्न यसले महत्वपूर्ण सहयोग गर्छ र राजनैतीक क्षेत्र भन्दा अलिक सम्मानयोग्य बातावरण यसमा पाउन सकिन्छ। किनकी यसले समाजलाई धेरै कुरा दिन्छ र थोरै लिन्छ। ज्ञान चक्षु भनेकै शब्द हुन। शब्दका मार्फत समस्त मानव जातिले सुसुचित हुने मौका पाउँछ। त्यसैले पनि हामीले यो क्षेत्रलाई कर्मक्षेत्र बनाउने कोशीस गरेका छौं। हामी आफुलाई साहित्यकार भनाउनु भन्दा समाजलाई केही दिन सक्ने ब्यक्तित्वलाई सार्वजनिकिकरण गर्नु अर्थात नवप्रतिभालाई हौसला तथा प्रोत्साहन प्रदान गर्नु नै हाम्रो लक्ष्य थियो, छ र रहनेछ।

Tuesday, July 24, 2012

कंक्रिट र फूलहरु -By रमेश कंडेल


स्वप्निल संसारको तन्द्रामा
एउटा ग्रामीण फूल बर्बराउँछ
नवीन बाटाहरुको परीकल्पनामा
गैंती र बेल्चाले गोरेटो खन्दै
सुदुर राजमार्गको नक्शा कोर्छ।

Monday, June 18, 2012

जीवन र जुकाहरु -By रमेश कंडेल

श्यामवेत समयको कुइनेटाबाट
एउटा आदिम मानिस हठात
दुष्कृति र अभ्यर्थनबाट भाग्दै
क्षितिज पारीको उज्यालो ताकिरहेछ।

Saturday, April 28, 2012

बुढो सिमल -By रमेश कंडेल


एउटा बुढो सिमलको रुख
सियाँलमा सबै समेटेर बर्षौ देखी
विरासत कायम राखेको छ उसले

बुढो सिमल बन्ने रहरले
उधौली उभौली र घुम्तिहरुमा
जीवनका पन्नाहरुमा केर्दै मेट्दै
अठोट र उद्देश्य जलिरहेको
भिमकाय समय भित्र
नविन बाटोको मानचित्र
कोर्दोछ यो सिसिफस

बक्र रेखाहरुमा अलमलिएको
यो समयलाई
सरल रेखामा रुपान्तरण गर्न
आँसुलाई अमृत समान पिउँदै
पल्लो क्षितिज चिहाउदैछु।

काँइला कामिका सफलता भित्र
कान्छा नेवारका असफलता भित्र
जीवनको सार नखोजेको होइन
खै! कुन माझधारमा अड्किएछ

त्यही अन्तर भित्र क्षितिज छुने
एक स्वर्णिम मानचित्र कोर्दैछु म
आफ्नै विरासत कायम गर्न
आफ्नै सियाँलमा समेटेर
अमिट शितलता प्रदान गर्न
म बुढो सिमल हुन खोजिरहेछु
खोजिरहेछु हुन बुढो सिमल म
कोर्न एउटा स्वर्णिम ईतिहास।

Friday, April 20, 2012

मलेशियामा नेपाली साहित्य र 'यात्रा' संग्रह -By Ramesh Kandel


अहिलेको समयमा साहित्यमा पूर्ण समर्पित ग्रामीण भेगबाट परदेश पुगेर त्यहाँ आफ्नो श्रम बेच्नेहरु नै छन भन्दा अत्युक्त नहोला। यि मध्ये पनि खासगरी पूर्वेली कलमहरु अग्रभागमा आउँछन। त्यसमा पनि बिकट पहाडी वस्तिका रैथानेहरु जसलाई नेपाल हुँदा हातमुख जोर्ने फुर्सदै हुन्न, साहित्यका कखरा पढ्ने, पढाउने, सिक्ने, सिकाउने समय नै मिल्दैन भन्दा फरक पर्दैन। कलम चलाऊन त झनै कठिन छ। उसै पनि मोफसलमा बसेर लेख्नु भनेको ढुङ्गो चपाउनु बराबर नै हो। केन्द्रले कहिल्यै मोफसललाई नगन्ने, मोफसलले केन्द्र सँग जोडीन नचाहने या अनुकुल नहुने। तर पछील्लो समय केन्द्रकाले डायस्पोरासँग सहकार्य गरेर अघी बढ्न थाले पछी मोफसल पनि जोडीन आइ पुगेको छ, चाहे जुनसुकै कारण होस्। यसरी नै जोडिने क्रममा फाक्चामारा, तेह्रथुमका युवाहरुको कार्य सह्रानिय बनेर आएको छ। यहाँका युवाले मलेशियामा रहेर विश्व भरी छरिएर रहेका साहित्यिक कलमहरुलाई एउटै धागोमा उन्ने कोशीष गरेको छ। त्यसको नेत्रित्व गरेका छन- गनिन्द्र विवशले र प्रथम साहित्यिक संगालोको रुपमा 'यात्रा भाग-१' प्रकाशित गरेका छन फाक्चामाराका युवाहरुले।

Sunday, April 1, 2012

चालिसौ जन्मदिन र मनका कुरा -By Ramesh Kandel


एउटा उक्ती छ- 'मनको बह कसैलाई नकह' अर्थात आफ्नो कुरा भरसक अरुलाई नसुनाउनु। तर कतिपय कुरा मन भित्र कैद गरेर राख्दा जलन हुदो रहेछ। त्यसैले होला- साहित्यकार दाज्यु जगदिश घिमिरेले आफ्नो कृति 'अन्तर्मनको यात्रा'मा 'मनको बह सबैलाई कह' भनेका छन। अनौपचारिक भेट वा नाम र चेहरा देखेकै भरमा मान्छेले झट्ट हेर्दा एउटा अलग ब्यक्तित्व को तस्विर बनाउन पुग्छन तर बन्द खाम भित्रको जीवन र अरुले देख्ने तस्विरमा फरक हुन्छ। त्यसैले मैले फेसबुकमा एउटा स्टाटस राखें- 'बन्द खाम भित्रको जीवन र तिम्रो आँखा' तर साथीहरु ले के कसरी लिए, मैले त्यस तर्फ चासो दिने कोशीष गरिन।

Monday, January 23, 2012

घनचक्कर भित्रको रहस्य र पाठक दृष्‍टिकोण -By Ramesh Kandel


मानसिक असन्तुलनबाट गुज्रिरहेको एउटा पात्रको रुपमा आफुलाई प्रस्तुत गरेर र त्यस अवस्थामा मञ्जुश्रीको समय देखी वर्तमान समयसम्मको काठमाण्डौ खाल्डो भित्रको त्यही मानसिकतामा सूक्ष्म बिश्लेषण तथा टिप्पणी गरेको एउटा गहिरो दर्शनको ठेली हो-'घनचक्कर'।

Saturday, January 21, 2012

जय खल्ती! -By Ramesh Kandel

               कुरा देशको हैन, कुरा खल्तिको हो तर मान्छे देशको डिङ हाँक्छ। 'म' पनि उही ड्याङको मुला त हुँला नि। त्यती ठुलो दु:खको साथ संघर्ष गरेर आएका र आफुलाई पूर्ण रुपमा जनतामा समर्पित गर्नेहरुको अनुहार त देखियो। 'म' पनी कसरी भिन्न हुन सकुँला। त्यसैले दलगत भन्दा व्यक्तिगत अधिकारका निम्ती प्रत्येक व्यक्ती अघी आउन पर्‍यो। दलले पहिला आफ्नो पार्टी हेर्छ, त्यसपछी आफु निकट परिवार र आफ्ना धुपौरेहरु। सामान्य जनताको हकमा जुन दल सरकारमा छ त्यसको प्रभाव क्षेत्र अनी हामी जस्ता आम नागरिकका दिन कहिले आउने? नपत्याए हेर्नुस- खोप्लाङ्गे बाजे महिनाको एक पटक गोरखा पुग्नु अर्को पटकको लागि आफ्नो ठाउँ सुरक्षित गर्नु न हो। मधेशी दलले महत्वपूर्ण मन्त्रालय ओगटेको छ तर त्यसले समग्र नेपाली जनताको बारे बोल्दैन, मात्र मधेशिको कुरा गर्छ। जातिय प्रतिनिधि छन, तिनले पनि आफ्नो जात र समुदायको कुरा गर्छ, समग्र नेपालको हितमा कुरा उठाउदैन। तिनको पनि भोली मुख्य मन्त्री र त्यस सरकारमा सामेल भएर खल्ती भर्ने प्रोपोकाण्ड मात्र हुन। त्यसैले पनि हामीलाई कुनै ठाउँ बिशेषको नभएर नेपाल अधिराज्यको नेता आवश्यक छ। यि अहिले जती पनि नेता छन, हामीलाई उल्लु बनाएर, शहीद बनाएर, बिभाजित गराएर, झगडा गराएर आफ्नो स्वार्थ पुरा गर्दैछन। हामी भोली पनि यिनिहरु कै दास बन्न एक अर्कालाई मार्न र मर्न तयार छौ। केही अपबाद बाहेक नेताहरु भूमिगत वा आन्दोलनको दौरान मारिन्नन र मारिए पनि ति महान शहीद र हामी झारेझुरे शहीद। हामी यि नेताहरुलाई लुटको लाइसेन्स दिलाउन र खल्ती बलियो बनाउन लगातार पिछलग्गु बन्न लालायित छौ। आफ्नो चुल्होमा खुलेआम आक्रमण गर्दा पनि मुकदर्शक बन्न वाध्य छौ। अहिले विद्यार्थी आन्दोलन भैरहेछ। यो पनी ग्र्याण्ड डिजाईन अन्तर्गत नै हो। 'म कुट्छु, तँ फकाए जस्तो गर' मात्रै हो । उसो भए पछी जनता पनि भुलिहाल्ने। कती सजिलै उनिहरुले हाम्रो आँखामा छरो हाल्छन र हामी अन्धो बनिदिन्छौ। यदी हाम्रो निम्ती यिनिहरुले साँच्चै आन्दोलन गर्ने नै हो भने फरक तरिकाले जसरी मध्यपूर्वमा आन्दोलन भयो, त्यसरी एउटा निश्चित बिन्दुसम्म किन जान सक्दैनौ? त्यसो भएको खण्डमा यि बृद्द नेताहरु उसै पाखा लागि हाल्थे नि। सिधै युवा बर्गको बर्चश्व कायम हुन्थ्यो नि। त्यसैले यि जती पनि देश प्रेमका कुरा उठेका छन। ति सबै आफ्ना नेता र आफ्नो पक्षपोषणका निम्ती रचिएका एक नाटक मात्रै हुन, त्यसमा 'म' पात्र पनि अछुतो छुइन होला। त्यसैले यि कुराहरुमा हाम्रो ध्यान जानु नितान्त जरुरी छ। जय खल्ती! 

Thursday, January 19, 2012

म समय (Poem) -By Ramesh Kandel


Ramesh Kandel
मान्छे उत्तरार्द्द खोज्न निस्कदा
हिमशिखर कालो मुख लाउदैछ
हरियो ड़ाडा फुस्रो हुदैछ
नदीहरु यात्रा छोट्याउदै छन्
उत्तरी दक्षिणी गोलार्ध रुँदैछन् 

तर मान्छे घपक्क अहमताले गाँज्दा
एटम बमको चुरी फुरी लाउछ
र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ
अनि लाशहरु माथि ताण्डब नृत्य गर्छ
कार्बनडाइअक्साइडको राज्य निर्माण गर्दै
आवाजहरुलाई पैसाले बुझो लाउदोछ |

मान्छे ! तिमीले आफ्नो मृत्यु देखेनौ
तिम्रै गल्तिहरु आज ब्ल्याकहोल चिहाउँछ
रवि पनि क्रोधित हुदैछ बिस्तारै तिमि सँग 
के तिमीले यो धर्तिको लागि केहि गर्यौ ?
तिम्रा हरेक शब्दहरु मात्र प्रतिबद्दता
प्रतिबद्दता यथार्थ बनोस , न कि बिपरितार्थ

ए मान्छे ! धर्तीमा तिम्रो अन्त्य भयको दिन
सन्त्राशहरु मेटिनेछ , ब्ल्याक होल पुरिनेछ
तिम्रो मृत्युमा हिमाल हाँस्नेछ
फुस्रा डाँडाहरुमा तिम्रो मृत्युको खुशीमा
स्वतन्त्रताको उत्सव मनाइनेछ |
नदीहरुले बिजयोन्मादमा यात्रा शुरु गर्नेछ
उत्तरी दक्षिणी गोलार्द अस्तित्व पुनर्प्राप्तिमा
रविको शान्त चेहरा देखि रमाउनेछ |

ए मान्छे ! सक्छौ भने आफ्नो मृत्यु टार 
सगोल पर्याबरणिय प्रेमको मुद्दा अघि सार
म समय,
तिम्रा निर्णयहरुलाई पर्खिरहने छु चिहान डाँडामा |

Monday, January 16, 2012

सपना


मैले देखेको सपना- पर क्षितिजमा सुनौला किरण देखेर अलिक नजिक जान्छु, न्यानोपनको महशुस हुन्छ र म त्यसैमा समाहित हुन्छु। तत्काल मलाई पोल्छ, दुख्छ र रुन्छु, रुवाइको चित्कार टाढा टाढा सम्म फैलिन्छ। तर त्यहाँ त चित्कारै चित्कार मात्रै सुन्छु। मेरो चित्कार त्यही कतै बिलिन भैदिन्छ। कसैले सुन्दैन र सुन्नेहरु बेवास्ता गर्छन्। त्यो त रौरव कुण्ड रहेछ, त्यो त नरक रहेछ। मलाई त्यो अवस्थामा देखेर मेरो साथी सुजन उद्दार गर्छन्, मल्हम पट्टी गर्छन् र यसको नजिक नपर्न आग्रह गर्छन्। बिस्तारै मलाई आनन्दनुभूती हुन्छ र म उसको सल्लाह मान्दै कहिले त्यता नजाने प्रण गर्छु। तर यता मेरो नजिक रहेका बहुसंख्यक मान्छेहरु फेरी त्यही सुनौला किरणको कुरा गर्दै त्यो क्षितिजसम्मको यात्रा गर्न अनुरोध गर्छन्, त्यसले सबैको उन्नती हुने कुरा गर्छन्।