एउटा उक्ती छ- 'मनको बह कसैलाई नकह' अर्थात आफ्नो कुरा भरसक अरुलाई नसुनाउनु। तर कतिपय कुरा मन भित्र कैद गरेर राख्दा जलन हुदो रहेछ। त्यसैले होला- साहित्यकार दाज्यु जगदिश घिमिरेले आफ्नो कृति 'अन्तर्मनको यात्रा'मा 'मनको बह सबैलाई कह' भनेका छन। अनौपचारिक भेट वा नाम र चेहरा देखेकै भरमा मान्छेले झट्ट हेर्दा एउटा अलग ब्यक्तित्व को तस्विर बनाउन पुग्छन तर बन्द खाम भित्रको जीवन र अरुले देख्ने तस्विरमा फरक हुन्छ। त्यसैले मैले फेसबुकमा एउटा स्टाटस राखें- 'बन्द खाम भित्रको जीवन र तिम्रो आँखा' तर साथीहरु ले के कसरी लिए, मैले त्यस तर्फ चासो दिने कोशीष गरिन।
आज मेरो जन्मदिन, जहाँ सम्म को यात्रामा मलाई साथ सहयोग गरेर जीवन लाई काँडा बाट निकालेर फूल बनाइदिने आत्मिय मन लाई पनि सम्झन मन लाग्यो र बिगत पनि अलिकती संक्षेपमा कोट्ट्याउन मन लाग्यो। त्यसैले दुई शब्द अभिलेखिकरण गर्दैछु। आज बाट चालिसौ बर्षमा प्रवेश गर्दैछु। जीवन भोगाइको क्रममा मैले सुख भन्दा बढी दु:ख नै भोगेको छु। झनै मानसिक दु:ख अत्यन्त कष्टकर हुन्छ। शिक्षण पेशा बाट शुरु भएको कर्मशिल जीवन बिभिन्न आरोह-अवरोह पार गर्दै आजका दिन सम्म पत्तै नपाई आइ पुगेछु। राजनीतिक कारण ले कर्मचारी जीवन लाई सधैंको लागि त्याग्न पुगेँ, जुन कुरा अहिले आँफैलाई सुइरो बनी मुटुमा बिझिरहेछ। मैले सबै भन्दा बढी समय राजनीतिमा र सबै भन्दा कम समय ग्रामीण भेगमा शिक्षा क्षेत्रमा सहयोग गर्ने अभिप्रायले ईंग्लिश स्कुल खोलेर अर्थात करीव एक बर्ष पुग्न नपाउँदै द्वन्द कालिन समय ले बिचैमा मेरो सपना तुहाउन पुगेको छु। कहिले संस्था खोल्न पुगें, कहिले पसल त कहिले रेष्टुरेन्ट आदी ईत्यादी। द्वन्दकालको चरम अवस्थामा पुग्दा मैले आफ्नो ग्रामीण थलो छोडेर मरुभूमी लाई आफ्नो गन्तव्य बनाउन वाध्य भएँ। मलाई परदेश जाने रहर पटक्कै होइन र थिएन। तर समयको हुरिले उडाएर करीव सात बर्ष जीवन लाई अन्धकार भित्र कैद गर्न पुग्यो।
परदेश रहँदा मेरो माटो भन्दा अनलाईनमा दुनियाँमा रम्न पुगेँ, जसको कारण परदेश बसाइको अन्तिम क्षणहरुमा उज्यालोको किरण बिस्तारै मेरो जीवनमा देखिन थाल्यो। हुन त मेरो जीवनमा पूर्ण रुपमा घाम लागिसकेको छैन, बदली भइरहेछ या सूर्य माथि आउनै सकेका छैनन। परदेश बसाइ कै क्रमको अन्तिम दिनहरुमा मैले फेसबुक खोल्न पुगेँ। त्यस पछी मैले मेरा पुराना साथी भाई खोज्न थालें। सबै स्कुलका साथीहरु लाई एड गर्दै गएँ, यस क्रममा भोजराज (कवी तथा पत्रकार) र राजेन्द्र (कान्तिपुर दैनिक, दोलखा संवाददाता) जोडीन पुगेँ। मेरो लेख्ने रहर स्कुल समय देखी हो, जुन बेला म प्रेमका कविता लेख्न रुचाउँथे। त्यस बेला मैले लेखेको कविता रुपा भाउज्युलाई सुनाउथेँ। उहाँले यसलाई निरन्तरता दिन उक्साउनु हुन्थ्यो। तर त्यसलाई विविध कारणवश अगाडि बढाउन सकिन। अभावै अभावको श्रिङ्खलाबाट मेरो यात्रा शुरु भयो र आज पर्यन्त यतै कतै अल्मली रहेको छु। यसमा आन्तरिक कारणहरु धेरै छन। त्यसलाई जीवनको अन्तिम क्षण तिर सार्वजनिक गर्नेछु। त्यसैले पनि धेरै कुराहरु सँग साहित्य पनि सपना नै बनिरह्यो। पछी सम्म फेसबुकमा साहित्यिक ब्यक्तित्व कवी भोजराज र बलदेव बाहेक अरु सँग मेरो लिङ्क थिएन। साथी हुनु हुन्थ्यो होला तर मैले त्यती बेला सम्म ध्यान दिएको रहेनछु। कवी बलदेवले चाँही मलाई लेख्न अभिप्रेरित गर्नु हुन्थ्यो। शायद उहाँलाई मेरा स्टाटसमा लेखिने शब्दले छोएको हुन सक्छ। त्यसपछी मेरा निकट मित्र राम प्रशादले मेरो स्टाटसमा नै अरु बढी अपेक्षा गरेको अहिले सम्म भुल्न सक्दिन। यही यात्रामा एक पटक गजलकार दलविर सिंह बराइलीले मेरो ईतिहास खोज्नु भयो, वर्तमान नै नभएको मान्छे सँग ईतिहास खोजेर कहाँ पाइन्थ्यो? ईतिहास अर्काको खोज्ने हैन आफ्नो बनाउनु पर्छ।
यसै क्रममा म छुट्टीमा नेपाल आएको थिएँ। हामी स-परिवार पोखरा घुम्न भनेर गयौ। पोखरा जाने ईच्छा बिस बर्ष पहिले देखी को थियो। तर समयले मेरो ईच्छा पुरा हुन बिस बर्ष लगाइदियो। पोखरा बसाइको क्रममा एक दिन साइबर पुगेँ। मेरो फेसबुक मेसेज बक्समा एउटा मेसेज आएको रहेछ। जो मेरो स्कुल जीवनका साथी थिए। मैले स्कुल जीवन मा दुई साथी लाई बिशेष सम्झन पुग्छु अर्थात कहिल्यै भुल्न सक्दिन। त्यस बेला अहिलेको जस्तो एउटै स्कुल बाट पढाई पुरा गर्न सकिन्न थियो हामी दुर्गम बस्तिका रैथानेहरुले। मेरो घर बाट सदरमुकाम आउन एक दिन हिंड्नु पर्थ्यो। कक्षा छ र सात मैले बिगु स्कुल बाट पुरा गरेँ। जुन बेला म दश बर्षको थिएँ। त्यती सानो उमेरमा घर बाट डेढ घण्टाको उकालो हिंडेर आफ्नो पढाईलाई निरन्तरता दिनु पर्थ्यो। पछी कक्षा आठ देखी फुपु दिदिको घरमा बसेर सदरमुकामको स्कुल पढ्ने अवसर जुर्यो। त्यती बेला बोर्डिङ स्कुल हुन्न थियो। जिल्लाका उच्च प्रशासकका छोराछोरी पनि हामी सँगै पढ्थे। त्यसैले पनि मलाई त्यो बेलाको शैक्षिक बातावरण मन भित्र गढिरहन्छ। अहिले भए मैले उनिहरु सँग पढ्न पाउने कुरा सपना थियो। कक्षा सात को परिक्षा पछी एक दिन फुर्ङिमा शेर्पा लाई भेटेँ। उनले त्यस बेला जुन आत्मियता देखाए, त्यस कुराले उनी सदा काल मेरो मनमा डेरा जमाउन पुगे। तर आज सम्म पनि उनलाई भेट्न सकेको छुइन। अर्को मित्र सुमित । माथि मैले मेसेजको प्रसंग कोट्ट्याएका मित्र सुमित । उनले लेखेका थिए- म नेपाल आएको छु, मलाई भेट्न मन छ। मलाई कल गर भनेर नम्बर पनि छोडेका रहेछन। मेरो खुशीको सिमा रहेन। हामी लमजुङ सम्म जाने योजनामा रहे पनि भ्रमण अवधी छोट्ट्याएर हतार हतार काठमाण्डौ फर्क्यौ। हुन त मैले पोखरा बाट नै सुमित लाई संपर्क गरी सकेको थिएँ। हाम्रो भेट भोजराजको पसल महाबौद्दमा भयो र न्युरोड पिपलबोटमा गएर पुराना यादहरुलाई ताजा गर्न पुग्यौं। उनी सानै देखी साथीहरु सँग अली धेरै घुलमिल हुन रुचाउँथे। त्यसैले होला धेरैले उनलाई बिर्सन सकेका रहेनछन। उनले त्यो बेला मलाई आफ्नो मनमा के कती कैद गरे थाहा छैन, तर मैले उनलाई अलिक धेरै मनमा राख्न पुगेछु। त्यसैले होला मैले फेसबुक खोल्ने बित्तिकै उनलाई खोजेर एड गर्न पुगेँ। उसो त सबै साथीहरुलाई उत्तिकै महत्व दिन्छु, तिनै साथीहरु मध्ये थोरै साथीहरु बिशेष हुन पुग्दो रहेछ। हाम्रो मित्रता नविकरण हुन केही ढिला भयो। शायद उनी ब्यस्त भए कै कारणले होला, मेरो मित्रता करीव तीन देखी चार महिनाको बिचमा स्विकृत भयो। तर उनी मेरो जीवन मा किरण बनेर आइ पुगे। उनलाई भेट्नु अघी म एक प्रकारले हताश र निराश मनस्थितिमा थिएँ। अरुलाई आशावादी हुन अर्ती दिने मान्छे, आँफै भित्र भित्रै आलु कुहिए जस्तै विरक्त थिएँ जीवन देखी।
मेरो समय थोरै भएकोले मरुभूमी फर्के। तर म त्यसबेला अत्यन्तै कष्टकर जीवन ब्यतित गर्दै थिएँ। जुन कुरा मेरो स्टाटसमा पोखिदै थियो। मलाई परदेश मन पर्दैन तर मेरो बाध्यता थियो। शायद पैसा पनि कमाउन नसकेर अलिक बढी नै जीवन देखी दिक्क थिएँ। हुन त मैले नेपाल मा नै केही गर्छु भनेर पटक पटक कोशिष नगरेको हैन। म आफुलाई समाज मा नमूना बनेर प्रस्तुत गर्न चाहन्थे। तर उचित साथ सहयोग बिना सबै सपना हुँदा रहेछन। यसै क्रममा सुमित ले मेरो घाऊ कोट्ट्याउन थाले, उनको उद्देश्य दुखाउन थिएन। त्यसलाई उनी पूर्ण रुपमा निको भएको देख्न चाहन्थे। आफु मात्रै हैन, साथीहरु पनि खुशी भएको देख्न चाहन्थे। कतिपय मानिस सहयोग गरेको देखाएर चर्चित हुन चाहन्छन अर्थात पत्रीकामा आफ्नो नाम आउन कै निम्ती किन नहोस्, सहयोग राशिको घोषणा गर्छन्। तर उनले त्यो बाटो अख्तियार कहिल्यै गरेनन। आखिर उनले मेरो घाऊ कोट्ट्याएर छोडे र उपचारका बिधिहरु पनि सुझाउन थाले। उनकै सल्लाहमा नेपाल आएर केही गर्ने योजना बन्यो। यस्तै एक दिन उनले मलाई धेरै चिन्तित देखेर होला, एक्लोपनको साथी पुस्तक लाई बनाउ भने। तब मैले फेसबुक भित्र साहित्य खोज्ने प्रयास गरेँ। मैले गाउँमा रहँदा पनि पुस्तक जम्मा गरेर सानो पुस्तकालयको रुप दिन नखोजेको हैन। पछी हिन्दी साहित्यमा अलिक बढी मन गयो र परदेश आउनु अघी सम्म त्यसको निरन्तरता कायमै थियो। मैले हिन्दी लेख्न पढ्न र बोल्न जानेको मेरो स्व-अध्ययनले नै हो। तर मलाई आफ्नै भाषामा केही गर्नु पर्छ अर्थात मैले कलम चलाऊन थाल्नु पर्छ भन्ने मेरो अन्तरात्माको निर्देशन थियो। तर आर्थिक कारण, पेटकै समस्या सँग सधैं जुधी रहनु परेकोले यि अहिले सम्म ईच्छाहरुमा सिमित रहेका छन। तर मेरो साहित्यमा सकृयता अली बाक्लै बनेको छ अचेल। यि सबै कुराको जस सुमित लाई जान्छ। म अहिले सम्म पनि आफ्नो माटोमा उभिने प्रयत्नमा नै छु। यस क्रममा आर्थीक देखी लिएर मानसिक रुपमा सुमित ले नै सहयोग गरिरहेका छन। मेरो धरातल अहिले पनि अस्थिर छ, तर पनि म नेपालमा नै केही गर्न सक्छु र सकिन्छ भनेर लागि परेको छु। सुमित ले तनमनले साथ दिए पनि समयले मलाई साथ दिएको छैन। तर आज म जीवनका करीव दुई तिहाइ जीवन पुरा गर्दै गर्दा अहिलेको मेरो जीवन लाई खुशी बनाउन र देख्न चाहने मेरा अत्यन्त प्रिय मित्र सुमित लाई हार्दिक आभार प्रकट गर्छु। मेरो लागि मान्छे नै ईश्वर को रुप हो भन्ने लाग्छ। आफ्नै कर्महरुले आफुलाई कुन कोटिमा उभ्याउने भन्ने निर्धारण गरेको हुन्छ। मलाई थाहा छ- अघी बढ्न आफ्नो प्रयास नै महत्वपूर्ण हुन्छ तर साथ दिने मानिस पनि अपरिहार्य छ। अहिले जती पनि सहृदयी मनहरु सँग निकटता बनेको छ, ति सबै सम्बन्धका कारक पनि उनी नै हुन। पछी प्रिय मित्र भोजराज र बसन्त भाई ले पनि आत्मिय साथ दिएका छन र सधैं रहनेमा पनि विश्वस्त छु। मलाई नेपथ्यमा रहेर पनि धेरै माया गर्ने धेरै आत्मिय मन छन, त्यस मध्ये केही बिशेष निकट छन। निकट मनहरुको पनि आगामी दिनमा सदा साथ रहनेमा विश्वस्त छु।
नेपाल बसाइको क्रम २०६८साल मेरो लागि प्रतिकुल नै रह्यो। सानो दुर्घटनामा बाँया हात फ्र्याक्चर हुन पुग्यो। आफन्त र परिवारका सदश्यहरु गुमाउन पुगेँ। आर्थिक हिसावले पनि संकटग्रस्त नै रह्यो। तर पनि यि समय साथीहरुको अनुग्रहमा चलिरहेछ। मैले आफन्त भन्दा साथीहरु नै सहयोगी पाएँ जीवनका यि मध्ये दिनहरुमा। शायद म भित्र स्वार्थरुपी भाईरसहरुले ठाउँ पाएनन। सुमित ले मलाई भन्थे- 'सबैको एक न एक स्वार्थ हुन्छ, मेरो पनि छ। त्यो हो -आत्मसन्तुष्टी।' साथीहरुको खुशीमा आफ्नो सन्तुष्टी देख्ने मानिस कमै भेटिन्छन् र मैले उनलाई पाएँ। तर मेरो स्वार्थ भने प्रेम थियो, मलाई उनी सँग नजिकिन र संपर्कमा रहन अर्थात आत्मिय सम्बन्धलाई प्रगाढ बनाउनु थियो। साहित्यिक क्षेत्रमा मैले अत्यन्त कम कलम चलाए पनि समय भने अनुकुल रह्यो। मैले चलाऊदै गरेको ब्लगलाई दाज्यु करुणले वेवसाइटमा लगिदिने कुरा गर्नु भयो र हालसालै त्यसलाई पूर्णता दिसक्नु भएको छ। केही प्राविधिक कुरा बाँकी छन। धेरै साथीहरु सँग फेसबुक बाट शुरुवात मित्रतालाई सशरिर भेटेर अझ मजबुत बनाउने काम भयो। साहित्य सञ्जाल बाट बेथान्चोक पर्यटकिय यात्रा पनि पुरा गर्न पाइयो। पछील्लो समय अझ सकृयता देखाउनु पर्नेमा मेरा पाइतालाहरु जमिनमा पूर्ण रुपमा गाडीन नसक्दा ओझेलमा परेको हो कि भन्ने लाग्न सक्छ। साहित्य नपढ्नेले लेख्न पनि सक्दैन भन्ने बिचारले जरो गाड्दा पनि अलिक पर्दा पछाडि हुन वाध्य थिएँ। मलाई पैसा भन्दा सामाजिक सम्बन्ध ठुलो लाग्थ्यो तर यो अभावले मलाई पनि पैसा कै पछी लगायो। समग्रमा यि बितेका दिनहरु थोरै खुशीले धेरै बाँच्न प्रेरणा दिएको छ। यो नै जीवनको राम्रो पक्ष हो। मलाई अघी बढ्न सधैं अभिप्रेरित गरिरहने प्रिय मित्र सुमित र आत्मिय साथीहरुको शुभकामना, प्रेरणा र साथ नै मैले कमाएको सबै भन्दा ठुलो सम्पत्ति हो। त्यही सम्पत्ति प्रयोग गर्दै आगामी दिन अझ खुशीले बिताउन सकौं। सबैलाई धन्यवाद। सबैको जय होस्, मंगल होस्।
No comments:
Post a Comment