Friday, April 20, 2012

मलेशियामा नेपाली साहित्य र 'यात्रा' संग्रह -By Ramesh Kandel


अहिलेको समयमा साहित्यमा पूर्ण समर्पित ग्रामीण भेगबाट परदेश पुगेर त्यहाँ आफ्नो श्रम बेच्नेहरु नै छन भन्दा अत्युक्त नहोला। यि मध्ये पनि खासगरी पूर्वेली कलमहरु अग्रभागमा आउँछन। त्यसमा पनि बिकट पहाडी वस्तिका रैथानेहरु जसलाई नेपाल हुँदा हातमुख जोर्ने फुर्सदै हुन्न, साहित्यका कखरा पढ्ने, पढाउने, सिक्ने, सिकाउने समय नै मिल्दैन भन्दा फरक पर्दैन। कलम चलाऊन त झनै कठिन छ। उसै पनि मोफसलमा बसेर लेख्नु भनेको ढुङ्गो चपाउनु बराबर नै हो। केन्द्रले कहिल्यै मोफसललाई नगन्ने, मोफसलले केन्द्र सँग जोडीन नचाहने या अनुकुल नहुने। तर पछील्लो समय केन्द्रकाले डायस्पोरासँग सहकार्य गरेर अघी बढ्न थाले पछी मोफसल पनि जोडीन आइ पुगेको छ, चाहे जुनसुकै कारण होस्। यसरी नै जोडिने क्रममा फाक्चामारा, तेह्रथुमका युवाहरुको कार्य सह्रानिय बनेर आएको छ। यहाँका युवाले मलेशियामा रहेर विश्व भरी छरिएर रहेका साहित्यिक कलमहरुलाई एउटै धागोमा उन्ने कोशीष गरेको छ। त्यसको नेत्रित्व गरेका छन- गनिन्द्र विवशले र प्रथम साहित्यिक संगालोको रुपमा 'यात्रा भाग-१' प्रकाशित गरेका छन फाक्चामाराका युवाहरुले।


एक दिन गायिका खुशेनिचो चाम्लिङ बहिनिले गजलगो भानु सुनुवारका गजल मेरो हातमा पार्न पुतलिसडक बोलाउनु भयो। उहाँले नै फाक्चामाराका युवा साहित्यकार गनिन्द्र विवश सँग पहिलो परिचय गराउनु भयो। उनी मलेशिया बाट छुट्टी मनाउन नेपाल आएका रहेछन अघिल्लो दिन। भद्र, मिलनसार देखिने एउटा उपन्यास बजारमा ल्याइसकेका यि युवा सँग परिचय गर्न पाउँदा र उनको सकृयताको बारेमा जान्न पाउँदा धेरै खुशी लाग्यो। त्यसै दिन यिनले 'यात्रा' संग्रहका थुप्रै प्रती मेरो हातमा थमाइ दिए। हातमा परे पनि समय अभावका कारण धेरै दिन थन्केर बस्यो मेरो कुटिमा। केही प्रती स्कुल परिवार र केही साहित्यिक मनहरुलाई बाँड्न भने चुकिन। यस कृति संग्रहमा मैले नजिक बाट चिनेका धेरै कलमहरु र कतिपय मैले फेसबुककै भित्तामा पढेका सिर्जनाहरुलाई पुन: पढ्न पाएँ। परीचीत नामहरुमा मनु लोहारुङ, स्वप्निल स्‍मृति, उमा सुबेदी, केदार संकेत, खुशेनिचो, ईन्दिरा प्रयास र फेसबुक भित्तो बाटै आत्मिय बनेका तर भेट नभएका खगेन्द्र लिम्बु, बिष्णुनन्द चाम्लिङ्ग, निराजन प्रभात, रिमा साईराम आदी आदी। आफुलाई सधैं प्रतिपक्षीको रुपमा प्रस्तुत गर्ने कवी बिक्रम सुब्बाका निबन्ध पनि पढ्ने अवसर मिल्यो। नौ कविता, आठ गजल, छ मुक्तक र अन्य फुटकर कथा, संस्मरण, निबन्ध, हाइकु र गेडी गरी बयालिस थान कृतिको संगालो हो यो संग्रह। फेसबुक लाई आधार मानेर मलेशियामा साहित्यिक गतिबिधि हुँदैन कि भन्ने मेरो भ्रमलाई चिर्दै गनिन्द्र विवश रुवेन पुन लगाएतका अन्य हस्ताक्षर सहित यो पुस्तक लिएर मेरो अगाडि उपस्थित भए। यस अघी मैले एक जना अमर सरोबर मात्रै मलेशिया बाट छन जस्तो लागेको थियो तर तिनी यो पुस्तकमा छुटेकाले अरु धेरै ओझेलमा नै छन कि भन्ने लाग्यो। त्यसैले आउने भाग-२ मा अरु स्रस्टाको पनि सिर्जना समावेश गर्दै जानेछ भन्ने विश्वाश लिएँ।

यसको सम्पादन बिदेशमा रहेर गर्नु परेकोले होला भाषिक अशुद्दता धेरै छन, कुनै सिर्जनामा गम्भिर त्रुटिहरु छन। तर पनि परदेशमा रहेर श्रमको समयबाट बचेँको समय साहित्यलाई समर्पण गर्दै यती धेरै मेहनत गरेर बजारमा ल्याइ पुर्‍याउनु नै गनिन्द्रको कुशलता हो, उनको टिमको सफलता हो। परदेशमा रहेर पनि देश प्रतिको प्रेम उजागर भएका केही सिर्जनाहरु जिवन्त बनेका छन। तिनै मध्ये केही सिर्जनाका अंशहरु तल उल्लेख गरेको छु।

आँगन परिसरबाट फागु एक मुठी रंग छरेर गयो खुशीको
मनमा उमंग भरेर गयो प्रितको (सम्झना घरदेश -दिलिप राई 'सगर', 'यात्रा' पृष्‍ठ -९२)

दिलिपका यि कवितांशहरुले एक कुशल कलमको परिचय दिन्छ, नेपाली संस्कृतिको सम्झना गराउँछ, अनी बहुरङ्गवादी दृष्‍टिकोणलाई मजबुत बनाउँछ। यहाँ बिभेद छैन, जातिय रङ्ग छैन, छ त एकताका रङ्गहरु।

झिलिमिली रात मैले कहाँ मागे तिमीसँग
दौलतको खात मैले कहाँ मागे तिमीसँग। (गजल- कल्पना अवस्थी, पृष्‍ठ ९१)

प्रेमिल गजल भए पनि यो नेपाली भावले लफक्कै भिजेको छ।

जिन्दगी नै बन्दकी दाउमा राखेर
आफैले आफैलाई उकासिरहेको बेला
बिर्स्यो नभन्नु साथीसंगिहरुलाई
म आफ्नो पसिनामा पनि
म नभएको गाउँ देख्छु
साथी संगिहरुलाई देख्छु।
हिउँ फुलेको हिमाल देख्छु।
गुराँस फुलेको पहाड देख्छु।
धान झुलेको तराई देख्छु।
समग्रमा
प्यारो नेपाल देख्छु। (सम्झना -भिम स्नेही लिम्बु)

कवी भिमले त एउटा ग्रामीण युवक कसरी र कुन प्रयोजनका  लागि परदेश लाग्न वाध्य हुन्छन अनी उनिहरु आफ्नो देशलाई सम्झन पुग्छन भन्ने शब्द चित्र खिंचेका छन। यस्तो कवितात्मक शब्द चित्र कमै पढ्न पाईन्छन। यस्तै परदेशका अनुभवहरु बाँडेका छन कवी केदार संकेतले आफ्नो यात्रा स्पर्श- दुबईको पेरोनी मा।

यसै गरी कवी मणी राई "गोठाले" को कविता 'प्रेम संसर्ग' र कवी दिलदुखी जन्तरेको कविता '"फे"? लारे जन्तरे' बिशेष छन। त्यस्तै स्वप्निल स्‍मृति, खगेन्द्र लिम्बु र उमा सुबेदी का सिर्जना पनि कम छैनन। त्यसैले थोरै परिश्रम गरिएको भए यो संग्रह अझ उत्कृष्ट हुने थियो। तर पनि प्रथम प्रयास नै अत्यन्त सफल बन्न पुगेको छ भन्ने मेरो दृष्‍टिकोण। त्यसैले यस अब्बल सिर्जनात्मक कार्यका लागि फाक्चामाराका युवा दस्ता र यसका नायक गनिन्द्र विवशलाई बधाई तथा शुभकामना। आगामी अंक अझ सुदृढ र सशक्त बनेर आओस, अग्रिम शुभकामना।

No comments: