कस्तो लेख्ने वा लेखियो भन्दा मेरो लगाव कस्तो छ, झुकाव कस्तो छ साहित्यमा भनेर आफुलाई हेर्ने गरेको छु।लेख्ने मान्छेले आफ्नो लागि लेख्छ र त्यही लेखाइलाई पाठकले नकरात्मक तथा सकारात्मक रुपमा चिरफार गर्छन्। माकुरोको शत्रु उसकै सन्तान भने जस्तै हाम्रो साहित्यमा ठीक उल्टो माउले बच्चोलाई सिध्याउने अर्थात ठुलो माछाले सानो माछालाई निल्ने जस्तै वुर्जुग साहित्यकर्मिहरु सिकारु कलमलाई हेयको दृष्टिगोचर दिन्छन र अग्रगमनको बाटो छेक्न अघिल्लो पंक्तिमा खडा हुन्छन। यती हुँदा हुँदै पनि केही राम्रा ब्यक्तित्व पनि छन, जसले हात समातेर बामे सराउने काम पनि गरेका छन। मैले जीवनको आधा भागमा आइ पुग्दा त्यस्ता केही सिर्जनाको मालिहरु सँग सामिप्यता गाँस्न पाएँ र अद्यापी पाइ नै रहेको छु।
साहित्य मेरो मुटु हो, जसको धड्कन बिना यो शरीर लासमा परीणत हुन्छ। मैले एउटै कुरा जीवनमा सिकेको के हो भने- खाने, लाउने र घुम्ने कुरा सबैले गर्छन् तर जीवन त्यतिका लागि हैन। यदी मानिस त्यतिमा सिमित रहन्छ भने पशु र हामीमा के नै फरक रह्यो? अर्थात समाज, देश र सकिन्छ भने यो धर्ति कै लागि आफ्नो सामर्थ्यले भ्याए सम्म केही न केही गर्नु पर्छ। जसरी भानुभक्तले यो कुरा एउटा सामान्य घाँसी बाट सिके। यो कुरा मैले चाँही कितावी ज्ञान बाट आर्जन गरेको हुँ। मान्छेले अध्ययनलाई नोकरी र समय कटाउने साध्य बनाए, मैले ज्ञान आर्जनका निम्ती। त्यसैले होला- धेरै बौद्दिक मान्छे पनि मूर्ख देखिए, त्यसैले मैले एक पटक फेसबुकको भित्तामा भनेको छु- बौद्दिक मूर्ख भन्दा अनपढ ज्ञानी नै उत्तम। मेरो सारतत्व के हो भने- बेद, बाइबल, कुराण र त्रिपिटक पढ र त्यसलाई जीवनमा उतार। तर हामी मानव बुद्दले हिंसा नगर भने हामी माशांहारी भयौ। धर्मले आपसी प्रेमलाई स्विकार्यो, हामी द्वन्दमा फस्यौ। गीताले जीवन लाई बुझ्न सिकायो, हामी त्यसका मन्त्र जप्दै अन्धकारमा रुमली रह्यौ। यि भए धर्मका कुरा। साहित्यले पनि बाटो बिराएकोलाई बाटो देखाउने काम गरेको छ, तर हामी यसको भावमा डुब्न छोडेर बाहिरी मनोरञ्जनमा लिप्त छौ। साहित्य समाज रुपान्तरण को पहिलो आधार हो। विश्वमा ठुला ठुला परिवर्तन कलम बाटै भएको छ। शब्दको शक्ती अचुक छ, अपरम्पार छ। त्यसैले मेरो धड्कन साहित्य बन्यो।
मलाई देश देशावर घुम्न, त्यहाँ बाट केही सिक्न र प्रकृतिको समिपमा रहन अत्यन्त मन पर्छ। अझ तिनलाई शब्दहरुमा सूचीकृत गर्न पाउनु त झनै ठुलो कुरो। यि रहर रहरै बनेको छ अहिले सम्म। मेरो पोखरा घुम्ने रहर त बिस बर्ष पछी पुरा गरें। आनन्दजी, उमा बहिनी र बिद्या बहिनिको सहृदयताले अनी फेसबुक सञ्जालका साथीहरुको सकारात्मक भावले केही महिना अघी सामुहिक बेथाञ्चोक भ्रमण गर्ने अवसर जुर्यो, त्यो मेरो लागि पहिलो स्वर्णिम सौभाग्य बनेर आयो र धेरै कलमवाजको सामिप्यता प्राप्त भयो। यहाँ मेरो कलम त्यतै केन्द्रित थियो र छ। तर साहित्यिक प्रसंगहरु पनि कोट्ट्याउन मन लाग्यो र दुई शब्द लेखिहालें। एक दिन बिहानै मोबाईलमा फेसबुक खोलेर हेरेको आनन्दजीको मेसेज इन्बक्स भित्र रहेछ। उहाँले फेसबुक सञ्जालले बेथाञ्चोक पर्यटकिय भ्रमण गराउने भएको छ। म भ्याउदिन होला तर राजु, बसन्त र तपाईंको नाम सिफारिश गरेको छु, निर्णय नभए पनि तपाईं तयार रहनु होला है भनेर लेख्नु भएको रहेछ। तर उहाँलाई कल गर्दा संपर्क हुन सकेन। फेरी उमा बहिनी र बिद्या बहिनी सँग संपर्क गरेँ। उहाँहरुले पनि निर्णय नभै सकेको तर तपाईं तयारी रहनुहोला भन्ने आशयको कुरा आयो। मलाई यो मौका गुमाउनु थिएन, फेरी हरिवंश दाई पनि आउने भने पछी अली हुरुक्कै भएछु। यात्रा अघिल्लो दिन जयराम जी लाई संपर्क गरेँ, तव मेरो मन ढुक्क भयो र सर्वप्रथम आनन्दजीलाई मनमनै धन्यवाद दिएँ साथै बहिनिहरु उमा र बिद्यालाई पनि। मैले यो भन्दा अघी चौरी गोठाला प्रेम शेर्पा भाई को साथ लागेर थम्पु डाँडाको काखमा रहेको बहुलापोखरी, खासा जाने क्रममा रेल्देको डाँडा माथि र कालिञ्चोक भगवतिको दर्शनार्थ हिमाली डाँडा हरु माथि पाइला राख्ने अवसर पाएको छु। त्यस मध्ये कालिञ्चोक को डाँडोमा पुग्दा स्वर्गको अनुभूती गरेको छु। चारैतिरको दृष्य देख्न पाइने त्यो डाँडो प्रकृतिको अनुपम उपहार हो। तर त्यहाँ बाट काठमाण्डौ को धरहराको टुप्पो देखिन्छ भन्थे, हामीलाई भने हुस्सुको कारण त्यो अवसर जुरेन। यो भ्रमण पनि उत्तिकै महत्वपूर्ण हुने ठान्यौ। किनकी यहाँबाट दक्षिणमा रक्सौल र तराइका समथर भूभाग र उत्तरतिर सुन्दर हिमसृङ्खलाका दृष्यपान गर्न पाउने कुरा आयोजकबाट सुनी सकेको थियौं।
भोलिपल्ट बिहान पाँच बजे उठेर ईनारको मनतातो पानीले स्नान गरियो र हुस्सुको घुम्टो चिर्दै पर्यटन बोर्डको अफिस भ्रिकुटी मण्डपमा सात बजे पुग्ने गरी मेरा पाइलाहरु सोझिए। त्यहाँ पुगे पछी थाहा भयो- मेरो मनका नायक हरिवंश नआउने भए। अरु पनि त्यो लिस्ट बाट बाहिरिएका थिए। तर हरिवंश नआउने कुराले विरसिलो बनायो मेरो मन। साथीहरु आउने क्रम जारी थियो। एकै छिनमा यात्रा प्रारम्भको घोषणा भयो। कतिलाई बाटो बाटै उठाउने कुरा भयो। अर्का यात्रा नायक प्रतीक ढकाल दाज्यु कोटेश्वर बाट हामीलाई साथ दिन आउनु भयो। दीपक दाई, उमा बहिनी, पर्मिला बहिनी र बसमा नै परीचित अनेसास अध्यक्ष राधेश्याम लेकाली जो यात्रा अवधिभर उमेरले पाँच दशक पुरा गरे पनि यात्रालाई रमाइलो बनाउन तीन दशकको यात्रामा यात्रारत राजु भाई को पनि भाई बनेर यात्रालाई सुखद र संस्मरणिय बनाउन लागि पर्नु भयो। हुन पनि गलबन्दिले टाउको कभर गरेर कालो चस्माले आँखा वरीपरिको बुढ्यौली रङ्गहरु छोपे पछी अठार बर्षे जवान देखिने रहेछन। मैले पनि त्यो सत्य थाहा पाउन र उमेरको आंकलन गर्न त्यहाँ चल्ने कुराकानीलाई नै आधार बनाउनु पर्यो।
हामी दीपेन्द्र प्रहरी स्कुल प्रागंणमा गएर रोकियौ। त्यहाँ हामीलाई स्वागत र बिहानको नास्ताको प्रबन्ध गरिएको रहेछ। त्यहाँको आत्मियता र न्यानोपनले यात्राको सुखद शुरुवात भयो। तर मन भोली चढ्ने भनिएको बेथाञ्चोकको थुम्कोमा नै थियो। महाभारतको अग्लो डाँडा जुन करीव तीन हजार आठ मिटर माथि अवस्थित थियो। जसलाई मैले कालिञ्चोकको थुम्को सँग तुलना गरेको थिएँ र गरेको छु। कालिञ्चोक हिमाली सृङ्खलामा अबस्थित छ, जहाँ बाट तराइ देखिन्न किनकी तराइलाई महाभारत लगाएत अन्य पहाडी सृङ्खलाले आफ्नो काखमा कैद गरेका छन। उचाइमा भने यो तीन हजार आठ सय दश अर्थात झण्डै आठ सय मिटर अग्लो छ। महाभारत हिमाली सृङ्खलामा पर्दैन, त्यसैले पनि यसको बिशेषता फरक छ। यो महाभारत कै अग्लो थुम्को पनि हो। हामी साँगा भञ्ज्याङ पछी बनेपा पुग्यौ र त्यहाँको साहित्यप्रेमिको न्यानोपनलाई अगांलेर चण्डेश्वरी मन्दिरमा एक छीन सुस्तायौ। मलाई मन्दिर प्यारो लाग्छ, त्यसले एउटा ईतिहास, संस्कार र परम्परा धान्छ अनी त्यसको सामिप्यले मन आनन्दित हुन्छ। ति देवीले कतिको आकांक्षा पुरा गरिन, कतिलाई आशा आशैमा झुल्याइन? जे भए पनि तिनी आस्थाकी प्रतिमुर्ती थिइन, जीवन बाँच्ने आधार थिइन, मेरो लागी शान्तिको मार्ग थिइन। त्यहाँ पनि मैले त्यही शान्तिको कामना गरेँ मूलुक र मेरो लागि।
हामीले खानपिन सिध्याएर धुलिखेल तिर बाटो ततायौ। समूहमा हिड्दा रमाइलो हुन्छ, त्यसैले मैले पछील्लो समय आयोजना हुन लागेको ईलाम यात्रामा पनि सहभागि हुने ईच्छा जाहेर गरेको थिएँ, तर चिनजान र निकटताको अभावमा यि कुरा गर्भैमा तुहिए। धुलिखेलको टुँडिखेल चौरमा पुगे पछी बुद्दले माथि शान्ति वन बाट हामीलाई चिहाउँदै गरेको दृष्य देखेर मन आनन्दित भयो। लुकेर चिहाइरहेका ति शान्तिका प्रतीक बुद्दलाई छुने रहर थियो, कत्तिले ति रहर पुरा गरे पनि। मैले टाढै बाट त्यो ईच्छा पुरा गर्न नपाएकोमा क्षमा मागें र त्यहाँ बाट देखिने हिम दृष्यको स्व-पान गरेँ।
अबको गन्तव्य नमो बुद्द मन्दिर थियो। समय धेरै घर्कि सकेको थियो। बेलुका कामिडाँडा पुग्नु थियो, जहाँ हामीलाई अधैर्यताका साथ हामी आउने बाटोतिर नजर दौडाइरहेका थिए त्यहाँका रैथाने आत्मिय मनहरु। त्यसैले अलिक हतार गर्नु भयो आयोजक मित्रहरुले। आयोजक मध्येका जयराम तिमील्सिना जी हामी नजिकै बसेर डाढस प्रदान गर्दै हुनु हुन्थ्यो। सविन भाई पनि हामी नजिकै हुनु हुन्थ्यो तर उहाँ आयोजक भए पनि यो यात्रा हामीलाई जस्तै नौलो थियो। नमोबुद्द पुग्नु अघी सम्म ति अघी हामीलाई सुन्दर उपवनबाट चिहाउने बुद्दको तस्विर मन भित्रै चिहाउदै थिए, त्यसैले होला मन शान्त थियो, स्निग्ध थियो। एकैछिनमा सानो सल्लेरि वनको शितलता मुनी बाट नमोबुद्दको काखमा पुगेर रोकियो। लाग्थे- सल्लाका रुखहरु हाम्रै स्वागतार्थ हातहरु फैलाएर अंकमाल गर्दै थिए। त्यहाँ बाट हामीलाई पैदलै शिरसम्म चढ्नु पर्ने भो। साथमा युवराज नयाँघरे दाई हुनु हुन्थ्यो, उहाँलाई पनि यही यात्राले नजिक बनायो अर्थात पहिलो पटक साक्षात्कार हो उहाँ सँग। आफु केही असक्त हुँदा हुँदै हाम्रो लागि उर्जा बनेर हाम्रो साथ दिदै हुनु हुन्थ्यो। हुन त म उकालो उरालो सँग खेलेको, यसकै सामिप्यमा रमाएको मान्छे हुँ। तर धेरै बर्ष भएछ यि उकाली ओराली सँग भेट नभएको, त्यसैले अलिक गाह्रो महशुस गरेँ। सुन्दर बौद्द गुम्वा, त्यहाँ बाट देखिने सुन्दर दृष्य, ध्वजापताकाले सिंगारिएको थुम्को र सदा दिप प्रज्वलन हुने बुद्द मन्दिर साँच्चै मनमोहक थियो दृष्य। मलाई त्यो ठाउँ छोड्न मन लागेको थिएन तर म तत्काल भिक्षु बन्न पनि सक्दिन थिएँ, न त साथीहरुलाई नै छोड्न। उक्ती नै छ नि- गाँस छोड्नु, साथ नछोड्नु। फेरी म माथि धेरै जिम्मेवारी थियो र छ। तर जीवनका अन्तिम क्षणहरु यिनकै सामिप्यमा बिताउने रहर अद्यापी छ। मनलाई बाँधेर तल बेसितिर, सुन्तलाको खानि तिर लाग्यौ। त्यही बाटो भएर कामिडाँडा जानु पर्थ्यो। बाटामा एउटै ढुङ्गा माथि अवस्थित सानो सुन्दर उपत्यका पनौती, जयरामजीको ढुंखर्क हुँदै बेथाञ्चोकको काखैमा रमाउनु थियो त्यो साँझ।
केही तल गए पछी ध्रुब ढुंगाना(राजु भाईका अनुसार नायक रमित ढुंगानाका ठुलो बा) हामीलाई सुन्तलाले स्वागत गर्न आतुर हुनु भएको थाहा भयो र आयोजक साथीहरुले हामीलाई उहाँको गेटमा छिराउनु भयो। उमेरले केही पाको भए पनि उहाँको जोश, हौसला र आत्मियताले बस भित्रको थकान नै बिर्साइदियो। हामीलाई चरणमा छोडिएको पशु जस्तै उहाँको बगैंचामा खुल्ला छोडिदिनु भयो। हामी भोकाएका पशु झै सुन्तला चाख्न भन्दा कसले बढी टिपेर जोहो गर्ने भनेर तछाड मछाड गर्दै सुन्तलाका हाङाबिङ्गा कब्जा गर्न थाल्यौं। सुन्तलालाई पनि हाम्रो अवस्था देखेर माया लागेछ, तल तल सम्म निहुरेर हामीलाई आफ्नो फल चखाउन र आत्मिक शितलता प्रदान गर्न लागि पर्यो। मैले उसको आतिथ्यलाई हृदयदेखी धन्यवाद दिएँ।
अब हामी आजको अन्तिम गन्तव्य तिर लाग्दै थियौ। साँझ को आगमन स्वरुप बिस्तारै रवी क्षितिजका आँचल पच्छ्याउदै थिए। हामी पनि मलिन बन्दै गएको उज्यालो बिच बसको झ्यालबाट देखिने ग्रामीण दृष्य टिपेर खुसुक्क आँखाका नानीहरुमा कैद गर्दै थियौ। कामी डाँडा आएछ भन्ने थाहा भयो, सुनिने कल्याङमल्याङले। त्यसैले युवराज नयाँघरे दाज्युले कामिडाँडाको कल्याङमल्याङ भनेर अन्नपूर्ण पोस्टमा लेख्नु भएको थियो। यती धेरै संख्यामा आएका साहित्यकारका पगरी गुँथेका र गुँथ्ने क्रममा रहेका हामीलाई पञ्चकन्या र धामी नाच द्वारा फूलमाला र धामिबाजा ले अत्यन्त आत्मियता दर्शाए स्थानिय मनफूलहरुले। म त भावुक भएछौ, घर-परिवार नै भुलेछु। शायद परिवारको भन्दा बढी माया पाएका थियौ। मकै भटमास चपाउन पाउँदाको आनन्द अनी साग र सिस्नु सँग ढिंडो कती स्वादिष्ट। अहिले नेपालमा पर्यटनको क्षेत्रमा एउटा शब्द 'होमस्टे' चर्चित छ। पारिवारिक बातावरणमा बस्न, घुम्न र प्रकृतिको काखमा लुटपुटिएर मनलाई आनन्दित बनाउन यस्तो यात्रा गरिन्छ र यस्ता बसाइलाई प्राथमिकता दिइन्छ। राती अबेर सम्म स्थानिय सांस्कृतिक कार्यक्रम को आनन्द लुटियो। हामीलाई अल्कोहल सेवन गर्न मनाही गरिएको थियो आयोजक बाट। अजिङ्गरको आहारा दैवले जुराउंछ रे। त्यस्तै भयो- राजु भाई र म माथि हाम्रो लागि तोकिएको सेल्टरमा आउँदा दाज्युहरु युवराज नयाँघरे, प्रतीक ढकाल र राधेश्याम लेकाली रमाइलो कल्याङमल्याङमा ब्यस्त हुनु हुन्थ्यो। त्यो थकित अवस्थालाई कता बाट बोतल द्वारा शक्ती सञ्चय गर्न भ्याउनु भयो, तर मैले पनि अमृत छर्किन चुकिन। कामिडाँडा होमस्टेको लागि उपयुक्त गन्तव्य हो भन्ने बलियो धारणा बन्यो हाम्रो मनमा। हामी जुन सेल्टरमा थियौ, त्यहाँ कृष्ण ब. महराले बास बसेका रे। तर हाम्रो समूहमा रमाइलो कुराकानी बनेर आयो- हिसिलाको पसिना।
बिहानको सूर्योदय र कामिडाँडाको अर्गानिक चियाको सुरुप सँगै बेथाञ्चोक शिखर तिर हाम्रा पाइलाहरु बढ्छन। दीपक खड्का दाज्यु र उमा बहिनिले माथि चढ्ने आँट गर्नु भएन र गाउँको काखैमा सुस्ताउनु भयो। भर्खरै विषमज्वरको पञ्जाबाट मुक्त हुन सफल ईन्दिरा प्रयास बहिनी, एउटा पाउ असक्त हुँदा हुँदै युवराज नयाँघरे अनी भर्खरै अष्ट्रेलियाको आरामदायी जीवन छोडेर नेपाल आमाको काखमा रमाउन आएकी अनुपमा रोशी त्यो उकालो चढ्न उद्दत भएको देख्दा म भित्र पनि अपार उर्जा मिलेछ। आफ्नै हिसाबमा उकालो नचढे अर्थात छिट्टो पाइला अघी बढाएर पहिलो पंक्तिलाई भेट्टाउने वा पछील्लोलाई साथ दिएर अघी बढ्ने गरियो भने गन्तव्य भेट्टाउन नसकिने अनुभव छ। म सँगै थिए- बहिनी बिद्या सापकोटा र भाई अनुकुल प्रकाश। उनिहरु सँग मन मिल्यो, पाइलो मिल्यो याने हामी शारिरिक र मनसिक रुपमा उस्तै रहेछौ जस्तो लाग्यो। घनघस्याको उकालो पढेको थिएँ, शिखरको नजिकै पुग्दा त्यसलाई महशुस गरियो। मलाई घनघस्या भन्दा कठिन लाग्यो। तर यि दुई जना भाईबहिनिको साथले ति कठिनता सहजतामा परीणत हुँदै गए।
No comments:
Post a Comment