मानसिक असन्तुलनबाट गुज्रिरहेको एउटा पात्रको रुपमा आफुलाई प्रस्तुत गरेर र त्यस अवस्थामा मञ्जुश्रीको समय देखी वर्तमान समयसम्मको काठमाण्डौ खाल्डो भित्रको त्यही मानसिकतामा सूक्ष्म बिश्लेषण तथा टिप्पणी गरेको एउटा गहिरो दर्शनको ठेली हो-'घनचक्कर'।
शान्त तलाउमा एउटा सानो ढुङ्गा हान्दा निस्कने तरङ्ग र केही समय पछीको शान्ताबस्था जस्तै समाज बिकासको क्रममा हुने आन्दोलन, विद्रोह, र शान्ती जस्ता कृयाहरु दोहोरिरहने र यि कुरा यस खाल्डोमा मात्रै नभएर संसारभरिनै उस्तै रुपले घटित हुने सत्यलाई उपसंहारमा उल्लेख गरिएको छ। समस्याहरुको महाजालो अर्थात एकातिर टाल्यो अर्कोतिर भ्वाङ्ग भने जस्तै कहिले अन्त नहुने जटिल समस्याहरुको संयोजनलाई घनचक्करको उपमा दिएका छन लेखकले। नेपाली समाज, अझ भन्दा काठमाण्डौ खाल्डोमा केन्द्रित भएर लेखिएको यो कृति(नेपाली संस्करण) भित्र नेपाली समाजमा बिघटित भैरहेका उतारचढाव तथा घटनाहरुको पुनरागमन र तिनले व्यक्तिको जीवनमा पार्ने असर र त्यसको न्युनिकरणमा पनि यो उपन्यास केन्द्रित रहेको पाउछौ। लेखकले वर्तमान समयलाई सुन्दर (शायद भर्खरै राजतन्त्रको अवसानको समय भएर होला) रुपमा प्रस्तुत गरे पनि नेताहरु कुनै पनि बेला ठुला माछा, सर्प र प्याजजस्ता रुपमा प्रकट हुने उपक्रम नरोकिने कुरामा विश्वस्त छन, जुन कुरालाई प्रतिकात्मक रुपमा यती सुन्दर रुपमा लिपिबद्द गरेका छन कि साँच्चै यो सत्यले हृदयभित्र राज गर्न पुग्छ यो कृतिले। लेखकले बारम्बार उल्लेख गर्ने ध्यान र चक्करहरुको गूढ रहस्यको उदघाटनले समभावमा रहन सिकाउँछ र जुन कुराले हामीलाई घनचक्करबाट बाहिर ल्याउन मद्घत पनि गर्छ। ध्यानका नियमहरुले यिनी विपश्यना ध्यानका अनुयायी हुन भन्ने लाग्यो तर कतिपय पाठकलाई विपश्यना(बुद्दले मार्गनिर्देश गरेको ध्यान विधी)को बारे जानकारी नहुँदा लेखक कतै कट्टर धर्मभिरु त होइनन? भन्ने लाग्न सक्छ किनकी विभिन्न शक्ती केन्द्र र हिन्दू धर्मसँग सम्बन्धित अधिक चर्चाले त्यो शंकाको लाभ दिनेछ। खासमा यो कृति उत्तरआधुनिक साहित्यका निम्ती उपन्यास विधामा कोषे ढुङ्गा हो। अरु कुनै उपन्यास यसरी लेखिएको छैन। प्रतिकात्मक रुपमा बिम्ब प्रतिबिम्बहरुको प्रयोगद्वारा मान्छे र समाजको चित्रण गर्दै बृहत चिन्तन गरिएको छ। अबको साहित्य कलात्मक हुनु पर्छ र प्रतिकात्मक रुपमा यिनलाई लिपिबद्द गरिनुपर्छ भन्ने मनशायबाट अभिप्रेरित यो उपन्यासले यथास्थितिबादबाट छलाङ्ग मार्ने शुरुवात गरेको छ र घनचक्करबाट निक्लेर प्राकृतिक सत्यलाई आत्मसात गर्दै जीवनलाई सुखद बनाउन शिक्षाप्रद भूमिका खेलेको छ। अर्को कुरा एउटा मानसिक असन्तुलन व्यक्ती कस्तो अवस्थाबाट गुज्रला भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास पनि छ।
नेपाली भूमिमा बिदेशी प्रभाव र त्यसले उब्जाएको अस्थिरतालाई प्रतिकात्मक रुपमा यसरी बर्णन गरिएको छ, जसले हाम्रो देशको बर्तमान राज्यप्रणाली माथि कटाक्ष पनि गरेको छ- "के कठपुतलिको नाटकका सम्राट, विद्रोही तथा सेनापती आफ्नो भाग्यदिशा आफै निर्देशित गर्न पूर्ण रुपले सक्षम थिए? कि उनिहरु भन्दा पनि ठुलो कुनै शक्तिले पर्दा पछाडि बसेर डोरीहरु यताउता तान्दै नाटकको गतिलाई लगातार निर्देशित गरिरहेको थियो? शायद त्यस नाटकका नायक उपनायकहरु पनि त्यसका सानातिना पात्र सरह नै कमजोर र अशक्त थिए। अरु नै शक्तिबाट सञ्चालन थिए। शायद अदृष्य शक्तिले तिनिहरुको आकांक्षा, ईच्छा र जीवनलाई निर्देशनका डोरिहरुले तानेर यताउता घुमाईरहेको थियो। शायद अरु शक्तिहरु नै पर्दा पछाडि सकृय थिए, नृत्यमञ्चको नाटक भित्रको शक्ती सन्तुलनलाई बनाउँदै, बिगार्दै र पुन: बनाउँदै" -(घनचक्कर, पृष्ठ-१२७)
मलाई यि अंशहरुले अहिलेका शासक र शासनका तावेदारहरु कठपुतलि प्रतित लाग्छन। अनेकन समस्याहरु र त्यसको बृहत जालोहरुको चक्रब्युहमा आजको समय फँसिरहेछ र त्यही कुराको उदघाटन गरेको छ यो कृतिले भन्ने मलाई लागेको छ।
अन्त्यमा घनचक्करले एउटा दर्शन, एउटा मान्यता स्थापित गर्ने कोशीस गरेको छ र त्यसका कारक तत्वको रुपमा राजनीतिक, मनोबैज्ञानिक, अस्तित्वपरक र पदार्थबादी दृष्टिकोणलाई यसरी प्रस्तुत गरेको छ।-
१) राजनीतिक कारण- पदका लागि, पैसाका लागि, सम्मानका लागि वा आ-आफ्नो महानता स्थापित गर्नका लागि मानिसहरु बिच संघर्ष चलिरहनु र यसबाट उत्पन्न शक्ती संघर्षले ल्याउने वर्गिय विवाद, जातिय विवाद, क्रान्ति, विद्रोह, आतङ्कका श्रृंखला तथा युद्द हुन। यहाँ भन्दा बाहिर कुनै आदर्शबादी संसार छ भन्नु केबल एउटा भ्रम हो।
२) मनोबैज्ञानिक कारण- हाम्रो अस्तित्वको केन्द्रमा रहने अभावको ठुलो प्वाल र त्यसलाई पूर्ण कहिल्र पैसा जम्मा गर्छौ, कहिले नाम कमाउने कोशीस, कहिले प्रेम त कहिले प्रतिद्वन्द्विता। तर जे जती भए प्रयत्न गरे पनि त्यो अभावको प्वाल सधैं चिलाइरहने, कोट्ट्याउन मन लाग्ने घाऊ जस्तै निरन्तर कायम रहने सत्य।
३) अस्तित्वपरक कारण- एकातिर मृत्युको बोध, अर्कातिर मृत्युको अवबोधनालाई नकार्ने अर्थात त्यसको भयावहबोधलाई सहजिकरण गर्ने उपाय अबलम्बन गर्नु र त्यो बिरोधाभास अवस्थामा फँस्नु।
४) पदार्थबादी कारक- एकातिर काम गर्नुपर्ने ईच्छा र आवश्यकता अर्कोतिर काम भन्दा आरामको खोजी। यही बिरोधाभास पूर्वाबस्था नै चौथो र अन्तिम कारक हो।
जहाँ सदा भयकंर घनचक्करमा डुबाउँदै तैराउँदै हाम्रो जीवनलाई एक किनराबाट अर्को किनरातिर डोर्याइरहेका छौ। यती ठुलो दर्शनलाई मैले जती बुझेँ, त्यती मेरो सामर्थ्यले भ्याएसम्म राखेँ र कतिपय बुझेर पनि उल्लेख गर्न भ्याईन अर्थात सकिन या त बुझ्नै नसकेर घनचक्करभित्र रुमाललिरहेँ। म एउटा सामान्य पाठक अनी एउटा विद्वान लेखक बिच तादात्म्य खोज्ने भुल नगर्नु नै बेश। तर मलाई यो कृति निस्सिम मन पर्यो र त्यही कारणले पनि मेरा मित्र जसले यो कृति पढ्नु भएको छैन, उहाँहरुले पढ्ने अवसर मिलोस भन्नाका निम्ती सानो परिचय दिने दुस्साहस गरेँ किनकी हामी यो समयमा कुनै न कुनै घनचक्करमा फँसेका छौ र त्यसबाट मुक्त हुन पनि यो पुस्तक अध्ययन गर्नु राम्रो भन्ने आग्रह पनि। यस अमूल्य कृतिका लेखक डा सञ्जिव उप्रेतिलाई हार्दिक बधाई। जय घनचक्कर!
No comments:
Post a Comment