Saturday, January 21, 2012

जय खल्ती! -By Ramesh Kandel

               कुरा देशको हैन, कुरा खल्तिको हो तर मान्छे देशको डिङ हाँक्छ। 'म' पनि उही ड्याङको मुला त हुँला नि। त्यती ठुलो दु:खको साथ संघर्ष गरेर आएका र आफुलाई पूर्ण रुपमा जनतामा समर्पित गर्नेहरुको अनुहार त देखियो। 'म' पनी कसरी भिन्न हुन सकुँला। त्यसैले दलगत भन्दा व्यक्तिगत अधिकारका निम्ती प्रत्येक व्यक्ती अघी आउन पर्‍यो। दलले पहिला आफ्नो पार्टी हेर्छ, त्यसपछी आफु निकट परिवार र आफ्ना धुपौरेहरु। सामान्य जनताको हकमा जुन दल सरकारमा छ त्यसको प्रभाव क्षेत्र अनी हामी जस्ता आम नागरिकका दिन कहिले आउने? नपत्याए हेर्नुस- खोप्लाङ्गे बाजे महिनाको एक पटक गोरखा पुग्नु अर्को पटकको लागि आफ्नो ठाउँ सुरक्षित गर्नु न हो। मधेशी दलले महत्वपूर्ण मन्त्रालय ओगटेको छ तर त्यसले समग्र नेपाली जनताको बारे बोल्दैन, मात्र मधेशिको कुरा गर्छ। जातिय प्रतिनिधि छन, तिनले पनि आफ्नो जात र समुदायको कुरा गर्छ, समग्र नेपालको हितमा कुरा उठाउदैन। तिनको पनि भोली मुख्य मन्त्री र त्यस सरकारमा सामेल भएर खल्ती भर्ने प्रोपोकाण्ड मात्र हुन। त्यसैले पनि हामीलाई कुनै ठाउँ बिशेषको नभएर नेपाल अधिराज्यको नेता आवश्यक छ। यि अहिले जती पनि नेता छन, हामीलाई उल्लु बनाएर, शहीद बनाएर, बिभाजित गराएर, झगडा गराएर आफ्नो स्वार्थ पुरा गर्दैछन। हामी भोली पनि यिनिहरु कै दास बन्न एक अर्कालाई मार्न र मर्न तयार छौ। केही अपबाद बाहेक नेताहरु भूमिगत वा आन्दोलनको दौरान मारिन्नन र मारिए पनि ति महान शहीद र हामी झारेझुरे शहीद। हामी यि नेताहरुलाई लुटको लाइसेन्स दिलाउन र खल्ती बलियो बनाउन लगातार पिछलग्गु बन्न लालायित छौ। आफ्नो चुल्होमा खुलेआम आक्रमण गर्दा पनि मुकदर्शक बन्न वाध्य छौ। अहिले विद्यार्थी आन्दोलन भैरहेछ। यो पनी ग्र्याण्ड डिजाईन अन्तर्गत नै हो। 'म कुट्छु, तँ फकाए जस्तो गर' मात्रै हो । उसो भए पछी जनता पनि भुलिहाल्ने। कती सजिलै उनिहरुले हाम्रो आँखामा छरो हाल्छन र हामी अन्धो बनिदिन्छौ। यदी हाम्रो निम्ती यिनिहरुले साँच्चै आन्दोलन गर्ने नै हो भने फरक तरिकाले जसरी मध्यपूर्वमा आन्दोलन भयो, त्यसरी एउटा निश्चित बिन्दुसम्म किन जान सक्दैनौ? त्यसो भएको खण्डमा यि बृद्द नेताहरु उसै पाखा लागि हाल्थे नि। सिधै युवा बर्गको बर्चश्व कायम हुन्थ्यो नि। त्यसैले यि जती पनि देश प्रेमका कुरा उठेका छन। ति सबै आफ्ना नेता र आफ्नो पक्षपोषणका निम्ती रचिएका एक नाटक मात्रै हुन, त्यसमा 'म' पात्र पनि अछुतो छुइन होला। त्यसैले यि कुराहरुमा हाम्रो ध्यान जानु नितान्त जरुरी छ। जय खल्ती! 

No comments: