स्वप्निल संसारको तन्द्रामा
एउटा ग्रामीण फूल बर्बराउँछ
नवीन बाटाहरुको परीकल्पनामा
गैंती र बेल्चाले गोरेटो खन्दै
सुदुर राजमार्गको नक्शा कोर्छ।
सिमल फूलका अभिप्साहरु
बौद्ध मार्गमा अविछिन्न
जिजिविषाहरुको जोहो गर्दै
पराई बाटोको यात्रा तय गर्छ।
मनले मनलाई नचिन्ने कंक्रिट वस्ती
र
कंक्रिट वस्तिका मनफूलहरु
शायद कंक्रिट मै रुपान्तरण हुँदैछ
कंक्रिटहरुमा आत्माको परीकल्पना
ब्यर्थ हुन्छ र निसासिन्छ त्यो फूल
उफ!
कती छिटो भत्किरहेछन स्वप्नवाटिका
उसले खनेका नूतन राजमार्गहरु
अश्रुहरुको भेलमा बगिरहेछन यहाँ
म मेरा कंक्रिट वस्तिहरु सँगै
मौन ति दृष्यहरुमा सामेल छु
र
कंक्रिट हुनुको आत्मबोध गर्दैछु आज।
No comments:
Post a Comment