Monday, December 19, 2011

बन्दको बिरोध

लोकतान्त्रिक पद्दतिप्रति के यती चाँडै नेपाली काङ्ग्रेसलाई मोहभंग भएको हो त? उसलाई पनि उही प्रचण्डपथले के गाँजेको हो त? शायद अघिल्ला मतपरिणामहरुले उसलाई उक्साएर आफुलाई अघी ल्याउन कम्युनिष्ट मार्गले मात्र सहज देखेको हो कि? वास्तवमा नै यि सबै यसरी घटित भएको हो भने काङ्गेस ओरालो लाग्ने बाटो लागेकै हो।

धेरै मानिसको प्रजातान्त्रिक आस्थाको धरोहर आफै वामध्रुबमा रुपान्तरण हुन लागेको हो भने नेपाल अझै कैयन बर्ष प्रजातान्त्रिक शक्तिको उदय र समाज परिवर्तनको दिशामा भट्किदैं अध्याँरो कुनामा थन्किरहनेछ। अहिले उसलाई वामराजनितिलाई प्रजातान्त्रिक मूलाधारमा ल्याउने ऐतिहासिक जिम्मा पनि छ। बन्द र तोडफोड भनेको कम्युनिष्टहरुलाई सुहाउने चरित्र हो। त्यसैले आफ्ना मागहरु पुरा गराउन बेग्लै बिधी अपनाउनु पर्थ्यो। अहिले काङ्ग्रेस माओवादीले मुक्तिनाथका हत्याराहरु शहीद हुँदा शिव पौडेल किन हुन नसक्ने भन्ने तर्कहरु अघी सारिरहेछन्। त्यसो भए माओवादी जुन बाटो हिड्यो, उ पनी त्यही बाटो हिंड्ने त? हामी सामान्य जनताले सुन्दा माग सहि छन, तर बिधी सहि छैनन। हो, एउटा सरकारको सुरक्षा दायरा भित्र रहेको एक नागरिकको हत्या उसको असक्षमताको पराकाष्टा हो। जेलभित्र रहने एक कैदिको सुरक्षा सरकारले दिन सक्दैन भने आमजनतालाई सुरक्षाको अनुभूती कहिले सम्म दिलाउला? एउटा कुरा- भिसाको लागि हामीले राजनीति गरेका हैनौ भनेर एक काङ्ग्रेसी नेताले भने, जुन कुरा मलाई पनि राम्रो लाग्यो। बेला कुबेला थर्काउने राजदुतलाई दह्रै तमाचा पनि हो। एउटा कुटनैतीक ब्यक्तिले बोल्ने भाषा ति होइनन। तर नेपालीको मनमुटु राम्रासँग छाम्न भ्याएका बिदेशिका कुरा पनि अर्को ठाउँमा ठिकै लाग्छन। समग्रमा भन्ने हो भने बन्दले राजनीतिक पार्टी र तिनका नेताहरुको साख बढाउने हैन, घटाऊने नै छ। एउटा सामान्य ट्याक्सी चालक, जस्ले आफ्नो रोजिरोटिका निम्ती राजनीतिक पार्टिको बन्धक भएर कहिलेसम्म बस्ने? एउटा सामान्य कृषकले कहिले सम्म सहज तरिकाले आफ्ना उत्पादनहरु बजारसम्म लिएर जाने अवस्थाको बातावरण बन्ने? सामान्य कर्मचारी, जसले शहरभित्रको महङ्गिले गर्दा बाहिर डेरा खोजेर बसेको हुन्छ, उसले कसरी आफ्नो तलब पकाउने? अबका दिनमा हत्याहिंसा, बन्द र तोडफोडले उनिहरुलाई पतनको दिशामा उन्मुख गराउने छ। एउटा अपराधीक मुद्दा लागेको मानिसलाई शहिद घोषणा गराउने तर्फ भन्दा शान्तिसुरक्षाको प्रत्याभुती गराउने दिशामा दबाब सिर्जना गर्न लाग्नु पर्थ्यो। यो चरित्र निर्माण गर्न काङ्ग्रेसलाई छिट्टै बुद्दी पलाओस। -एक सामान्य नागरिक 

Tuesday, December 6, 2011

ईश्वरसँग सह-अस्तित्वको सम्झौता -By Ramesh Kandel



ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु 
र गुरुकुलका केही सदश्यहरु 
मलाई लम्पसार पर्न आघोष गर्छन। 
अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा 
विरुढ मनमा एकपक्षिय प्रहार गर्छन्
फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। 



मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि 
आफ्नो आफैद्वारा हत्या गरी लाश फ्याँकिने जग्गाहरुमा 
कहिल्यै बिसर्जित गराउने छुइन र नगराउन आग्रह पनि 


ईश्वरहरु सँग मैत्री गाँस्नु न कि लम्पसार पर्नु 
किनकी दासहरु मात्र झुक्छन पाउमा घरि घरि 
र आफ्नो स्वत्व आफै नष्ट गर्छन् अनी बर्बराउछन 
केवल बर्बराउछन जिन्दगीभर 
अभावमा मृत्‍यु घोषणा गर्छन्, अनी  ईश्वर हाँस्छ तिमी देखी 
ईश्वरलाई तिमी जस्ताको आवश्यकता छैन, त्यसैले ऊ मौन छ 


मैले ईश्वरहरुसँग हातेमालो गर्न खोजेँ, मित्रता गाँस्न खोजेँ 
उसले निशर्त स्वीकार गर्‍यो, वार्ता गर्‍यो र सहमति पनि। 
तिमीले जस्तो सहमतिको लागि कुनै मुद्दा तेर्साएन 
स्वार्थी, ढोगीं कुरा गरेर कहिल्यै अल्झाएन 
तिमीहरु भन्दा फरक अस्तित्व खोज्यो र मित्रता गाँस्यो
त्यसैले आजकाल उसलाई  दासहरु देखी घृणा लाग्न थालेको छ,  
स्वस्ती श्रीहरुको नतमस्तकता देखी दिक्क लाग्न थालेको छ,


त्यसैले आफुलाई सहि दिशामा प्रवाहित गर्न र जीवन बुझ्न 
स्वघोषित मित्रमण्डलिहरुको एउटा लश्कर तय गरेको छ
उसले बुझेको छ- दासहरु सत्य बोल्दैनन् तर साथी बोल्छ 
सत्यले नै समयको दुश्चक्रलाई कुल्चनेछ र अन्तहिन पिस्नेछ


मैले मेरो ईश्वरसँग हात पसारिन तर मित्रता गाँसे
मनको बिस्कुन लगाईन, तर सदभाव राखेँ
मलाई आँखा जुधाएर कुरा गर्न मन पर्छ, 
मनभित्रका संबेगहरु निर्धक्क खोल्न मन पर्छ 
त्यसैले मैले ईश्वर रोजें, ऊ भित्र मित्रता खोजें
र आज ऊ मेरो साथी भएको अनी ईश्वर भएको छ। 
एउटा अन्तिम सत्य खोल्दैछु र रोज्दैछु यो समय  
जीवनको प्रत्येक भुमण्डलिकरण बिच यो बगैचामा 
उसलाई यो मांसपेशिको मन्दिरमा कैद गर्नेछु अनवरत....!

Friday, December 2, 2011

कवी बिहानिको कविता र म -By Ramesh Kandel


कवी बिहानिका कविताले नै मलाई कविता कोर्न उक्साएका हुन भन्दा मलाई लज्जा महशुस हुन्न, तर बाहिरी आवरणमा मात्र बुझ्न खोज्नेलाई यिनका कविता घनघस्याको उकालो भन्दा कठिन लाग्छन। उनकै शब्दमा पनि कला बिनाको कविता लेख्नु, के कविता लेख्नु? -ले यिनिसँगका सामिप्यता बढेका होलान अर्थात यिनका कविता सँग मैले दौत्य सम्बन्ध गाँसे हुँला। यो कविता पढे पछी अलिकती भए पनि प्रतिकृया दिन सदा झै जाँगर कता कता बाट उर्लियो र किबोर्डमा मेरा औंला चल्न थाले। यिनले के सत्य उजागर गरेका छन भने अबका युग कविहरुको युग हो र हुनुपर्छ। उनिहरुले मात्र सुन्दर विश्वको चित्र कोर्न सक्छन भन्ने उदघोष हो कवी बिहानिको र यूके पुगेपछिको प्रथम कविता पनि।

Tuesday, November 29, 2011

आनी छोइङ डोल्माको "फुलको आँखामा"

आनी छोइङ डोल्माको "फुलको आँखामा" ले बेला बेला संबेदनशिल बनाउँछ र अनायासै आँखाहरु रसाउँछन। त्यसैले होला- धेरै समय पछी एउटा राम्रो कृति पढ्न पाएको अनुभूती संगालिरहेको छु। जस्तो सुकै काम, क्रोध, घृणा, राग, द्वेश, कलह जस्ता दुषित भावहरुलाई पनि दया, करुणा, प्रेम, क्षमा, शिल र धैर्यले वशमा राख्न सकिन्छ भन्ने पाठ र कुनै पनि काम असम्भव छैन भन्ने विश्वास यस पुस्तकबाट प्राप्त गर्न सकिन्छ। भूमिका बिहिन यिनको कृतिमा पुरुषहरुको राक्षसी प्रवृतिलाई उजागर मात्र गरिदिएको छैन कि यती हुँदा हुँदै आमाबाबु र गुरु जती यो संसारमा महत्वपूर्ण अरु केही हुनै सक्दैन किनकी यो जीवन अमुल्य उपहारको रुपमा उनिहरुबाटै प्राप्त गरेका हौं र सम्पूर्ण दुर्गुणहरुको अचुक ओखती पनि प्रेमाभाव नै हो- भन्ने यसको मूल सार हो। एउटा अर्को पक्ष उनी तिब्बती मूलको हुँदा हुँदै पनि आफु जन्मेको भुमी नेपाल प्रती अपार आस्था कायम राख्नु र म नेपाली हुँ-ले सम्पूर्ण नेपालीको शिर उँचो राखेकी छिन्। यस हिसाबले पनि नेपाल आकाश की यि अमुल्य तारा हुन। यिनको पाइलाहरु यसरी नै अटुट रुपले अघी बढीरहुन, यिनले सोचेको अस्पतालले मुर्तता पाओस, सबैतिरबाट यथेष्ट सहयोग जुटोस, यही शुभकामना आनी छोइङलाई र मुरी मुरी बधाई पनि।

Thursday, November 24, 2011

मरुभूमिको सडकमा एक रात -By Ramesh Kandel

   रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको मौका छोप्न कारहरु मलाई नै छोएर हुँइकिरहे जस्तो लाग्थ्यो। कहिलेकही अन्जानबश गर्ने गल्तिहरुले आफैलाई कती दुखाउदो रहेछ।

त्यसैले होला हावाका झोकाले पनि मलाई तमाचा मार्दै म भन्दा अघी बढ्ने कोशीस गर्दै थियो। आउनु अघी अजमान बाटै एक कल गरेको भए यतिबेला उतिसारो अतासिनु पर्दैन थियो। हैन, आज जुमेरात यती चाडै उ किन सुत्यो होला? न त जयराज भट्टराईको खजुरबोटेमा त भुलेन। यस्तै यस्तै तर्कनाबिच उसको कोठाको गेटमा कतिबेर पाईला रोकिन पुगेछ, पत्तै भएन। एक पटक पहिले दिउँसो खेरी आए बाहेक अर्को पटक आउने साईत मेरो लागि जुरेको थिएन। बहिरै गेटबाट उसलाई बोलाएँ। बाहिरी बत्तिहरु सबै निभिसकेको थियो, सडक भन्दा अलिक भित्र भएकोले त्यहाँको बातावरण चकमन्न थियो। मेरो स्वर घरको भित्तोसम्म ठोकिएर मेरो कानै नजिक आएर बज्रिन्थे। अहँ, उसले न त मेरो आवाज सुन्यो, न त मेरो फोनको रिङ्ग नै।

           म भित्रको अघी देखीको डरले पूर्णता पाईसकेको थियो। आज जीवन कै पहिलो पटक मैले सडकमा रात बिताउनु पर्ने भो। अजमान नै फर्किउँ भने गाडी नपाईने र पाईहाले अत्यधिक महङ्गो पर्ने। दुबइ देखी अजमान सम्मको दुरी झन्डै डेढ घण्टाको छ। लजमा बसौ भने मेरो आयस्रोतको हिसाबले पनि भारी हुने। मैले भोली नै घरखर्च पठाउनु पर्ने थियो। नत्र काठमाण्डौको महङ्गिमा परिवारको पेटले लडाईं गर्न असमर्थ थियो। त्यसैले होला, हिजो रोशनिले फोन गरेर भनेकी थिईन- "श्याम, यहाँ पैसा सिद्दिसक्यो, छिट्टै पैसा पठाउ न।" मन भारी बनाएर म फेरी अलिकती रमझम हुने र मलाई रात काट्न सहज हुने कारणले नाईफ स्क्वायर पाइलाहरु मोडें। 

           जुमान मेरो गाउँकै हो तर मैले उसलाई यहीं आएर चिन्ने मौका पाएको हुँ। उसको घर मेरो घरदेखी एक घण्टाको फरकमा अवस्थित थियो र उसले सानै देखी गाउँ छोडेर शहरतिरै डेरा जमाएको र होटेलहरुमा काम गर्ने क्रममा दुबइसम्मको यात्रा पुरा गरेको थियो। म भने नेपाली राजनीतिको कु-प्रभावबाट बच्न यहाँसम्म आइपुगेको थिएँ। मलाई नेपाली भने पछी मेरै गाउँघरका जस्ता लाग्थे, त्यसैले म नेपाली भने पछी भुतुक्कै हुन्थें। झनै ऊ त मेरै गाउँले थियो, उसलाई भेट्नु गाउँमा पुग्नु जस्तो महशुस हुन्थ्यो। मैले पहिलो पटक देशलाई माया गर्न जानेको पनि परदेशि बने पछी नै हो जस्तो लाग्छ, नत्र मैले देशकै राजनीतिमा संलग्न हुँदा पनि चिन्ता त लाग्थ्यो तर मैले प्रेम गरेकै हो जस्तो लाग्दैन। लागेको भए म यहाँ सम्म किन आउँथे होला। शायद त्यतिबेला मलाई मेरै प्राण प्रिय थियो, तर अहिले मलाई यो शरीर निकम्मा लागिसकेको थियो। मैले त्यतिबेला देशकै निम्ती किन प्राण आहुती दिन सकिन? दिनु नै परे कसरी कस्को लागि दिनु? तड्पिएर या तड्पाएर? अनेकान प्रश्नहरु सँगै म नाईफ स्क्वायरमा पाइला टेक्छु। 

            मलाई काठमाण्डौकै सडकमा एक रात बिताएर हेर्ने मन पनि नभएको हैन। तर मलाई मेरो आत्मले त्यसो गर्न दिएन, किन हो कुन्नी? त्यही ईच्छा आज आएर पुग्ने भो भनेर एक मनले स्विकार्यो, अर्को मन भने उकुसमुकुस हुँदै अरु उपायको खोजी गर्दैथियो। मैले सुनेको छु- यो चोक जहिले पनि जाग्रम बस्छ, उस्लाई यस्तै सडकपेटिमा अल्मलिएकालाई भुलाउने मन लागेर होला। ईण्डियन रेस्टुरेन्ट भने बेलैमा बन्द हुन्छ तर यि पश्चिमी सभ्यताका प्रयाय बन्न आतुर अरबी र पश्चीमी परीकार बन्ने रेस्टुरेन्ट अनी नगरबधुहरुको जमघट हुने लज वरीपरी भने केही बाक्लो उपस्थिती थियो। मेरो पेटमा मुसा दगुर्ने क्रम शुरु भयो, अघिसम्म पैसाको हिसाबकिताव खोज्ने यो मन लोभिएर रेस्टुरेन्ट तिर आँखा दौडाउदै थियो। मैले जसोतसो उसलाई त्यता जान बाट रोक्दै थिएँ, रोक्नकै लागि छलेर कहिले हयात होटेलको नजिक पुग्थे त कहिले बरदुबई जाने बोटहरु भएतिर। आखिर मैले पेट मात्र हेरेर भएन, आँखालाई पनि आराम दिनु थियो। 

           मैले सुनेको थिएँ- यहाँ दुईसय देखी माथि तिरे पछी नगरबधुहरु सँग रात कटाउन पाईन्छ, खाना भने आफैले उसको लागि समेत तिरिदिनु पर्छ। आफुले केही गर्नु पर्दैन, सबै कुरा उसैले जुटाइदिन्छे रे!खै, किन हो? मैले आज कसैलाई भेटिन। एकाध ठाउँमा देखेको पनि हो, मलाई कसरी भन्ने र कस्ता हुन्छन नगरबधु भन्ने हेक्का नहुँदा बोल्ने आँट आएन र लुरुक्क आफ्नो बाटो लाग्नु भन्दा अरु चारा देखिन। भोली मैले जसरी पनि बिस हजार पठाउनु थियो। त्यसैले मलाई ति कर्मतिर खासै चासो पनि लागेन तर मलाई नगरबधु कस्ता हुन्छन भन्ने जान्न सधैं उत्सुकता हुन्थ्यो।  
           यि उत्सुकताबिच नै चोकतिरै फर्के। अनी त्यहाँ अवस्थित सानो पार्कमा गएर लमतन्न पल्टें। उफ्फ मान्छेको जीवन पनि कती कष्टकर होला। मलाई हाम्रा ठमेलतिर जाडोमा पनि एकै ठाउँमा डल्लो परेर सुतेका सडक बालकहरुको याद आयो। मलाई यो सम्रिद्द शहरको सडकमा एक रात काट्न यती गाह्रो भयो भने तिनले दैनिक भोग्ने दु:ख देखेर मेरो मन रोयो। शायद तिनले सुँघ्ने गरेको प्लाष्टिक भित्रको गमको गन्ध कै शक्तिले यि सबै प्रकृतिका बाह्य आक्रमणबाट आफुलाई सुरक्षित राखेका होलान। मेरो मनले यस्तै आँकलन गर्‍यो र त्यो आकाशमण्डल चिहाएर सुस्तायो। पेटले भने उपद्रो मच्चाउन शुरु गरिसकेको थियो। त्यही अरबी रेस्टुरेन्टतिर अनायास बत्तिएर पुगे र हतपत मेनु हेरेर एउटा बर्गर र जुस मगाएँ। त्यसले पेटलाई अलिकती राहत प्रदान गर्‍यो र काउन्टरमा पुगेर पर्स निकाले र सोधें- "कती पैसा भयो?" क्याशियरले एक सय पचास भन्दा झसङ्ग भएँ। तर मेरो अगाडि अरु उपाय पनि थियन नि, पैसा तिरेर बाहिरिएँ। मलाई मेरा साथीहरु आफु खानको निम्ती पैसाको मुख नहेर भन्थे, नहेरेर पनि के गर्नु? म सँगै अरु पेटहरु पनि सम्बद्द छन भनेर खै किन बुझ्दैनन उनिहरु। सोचेँ- यो एक सय पचासले मेरो देशमा तीन हजार बन्थ्यो। हुन त मैले भन्दा थोरै तलव लिनेहरु हप्तामा एक पटक दुबइका नगरबधुसँग एक दिन समर्पण गर्न आइपुग्थे, खजुरबोटेको पनि बन्दोबस्ती गरेकै हुन्थे। कसरी पुर्याउछन होला जस्तो लाग्थ्यो। भित्रै सम्म घुस्ने कोशीस पनि गरिन र उनिहरु जस्तै गैह्रजिम्मेवार पनि बन्न सकिन र त्यो तीन हजार भित्र हराउन थालेँ।    

           अहिले रातको दुई बजिसकेको थियो होला। अब भने मलाई थकित अनुभूत हुँदै थियो। त्यसैले फेरी नगरबधु खोज्ने चेष्टामा कहिले लज अगाडि त कहिले सडक भौतारिरहें। अघी त्यती धेरै पैसा गयो भनेर हो कि मलाई अरु गुमाउन पनि माया लागेन। भोली पठाउने पैसामा चोट पुगिसकेको थियो। एक महिना खान पुग्ने पैसा अघी नै रेस्टुरेन्टमा फ्याँकिसकेको थिएँ। कोठामा आफैले बनाएर खाँदा एक सय पचासले जत्ती पुग्थ्यो पनि। हिड्दा हिड्दै एक जना फिलिपिनी तिर मेरो नजर दौडियो। कुनै पठान(पाकिस्तानि)ले उसँग मोलमोलाई गरिरहेथ्यो। कुरो नमिले पछी त्यो केटी अगाडि बढी, म पनि पछी लागेँ र अलिक अघी पुगेपछी उसलाई भेटाउन सफल भएँ। एक्सक्युज मी भन्दै कती पैसा लिन्छौ भनेर सोध्न भ्याइहालेँ। उसले दुई सय भनी। पैसा सुन्ने बित्तिकै घर सम्झे, स्कुल पढ्दै गरेका नानीहरु सम्झे अनी उनिहरुको अवस्था सम्झे र अत्तालिएर पाइलाहरु अनायासै फर्के र फर्की फर्की उ गएको बाटो हेर्दै ओझेल नहोउन्जेल मेरा नजरहरु ओच्छ्याइरहे कुन्नी के के सोच्दै? अनी फर्केर उही पार्कमा डङरङ्ग पछारिएँ, आफैलाई आफु भारी भएथ्यो शायद। केहीछिन पछी अलिक चहलपहल बढ्न थाल्यो। घडी हेरें, बिहानको चार बजिसकेछ। आफुलाई बिस्तारै उठाएँ र होटेल हायात भएतिर पाइतालाहरु चल्न थाले। केही अगाडि गएपछी एउटा नारिआवाज सुने, यसो हेरेको त दुई जना चाइनिज जस्ता देखिने मादक पदार्थले लठ्ठ मलाई नै बोलाइरहेथे। नजिक गएर किन भनी सोधें। मलाई पच्चिस दिराममा आउन आग्रह गर्दैथिए। तर किन हो कुन्नी त्यो रातभरको बसाइले मलाई उनिहरु देखी टाढा हुन मन लाग्यो। जुमानकोमा जान पनि मन परेन। त्यो अमिलो रातलाई स्‍मृतिमा संगालेर जबेलअली भन्ने ठाउँमा अर्को साथी भेट्न पब्लिक बस चढे। 

Sunday, November 13, 2011

शरद ऋतुमा केही शितलताको अनुभव हुँदैथ्यो। त्यसैले होला मलाई अलिक घुम्न मन लाग्यो र मेरो साथीलाई फोन गरेर आज भेट्न आउने कुरा बताएर अफिसतिर लागेँ। मरुभुमिका उराठलाग्दा द्रिश्यहरु बिच मैले आफुलाई सहज बनाउदै लगेको थिएँ। परदेशमा अधिक समय आफ्नै मातृभूमीको यादले सताउछ, त्यसबाट म पनि अछुतो रहन सकिन। त्यसैले पनि म नेपाली भने पछी भुतुक्कै हुन्थे। अझ आफ्नै गाउँका मान्छे भेट्न पाउनुको आनन्द बेग्लै हुन्छ। यस्तै मिठा अनुभुती संगाल्दै दिन बित्दै गयो। म बसेको ठाउँलाई सनैया भनिन्थ्यो। जहाँ हरियालीको सानो अंश पनि देख्न पाईन्नथ्यो। औद्योगिक क्षेत्रलाई अरबिमा सनैया भनिन्छ। यसलाई श्रमशिविर भन्दा पनि फरक पर्दैन। केटी मान्छे र अलिकती हरियो देख्न शहर नै पुग्नुपर्ने, त्यसैले होला यौन भावना अलिक बढी नै हावी हुन पुग्थ्यो। कतिपय साथीहरु बिहीवार आयो कि दुबइको रात्रीलाई रङ्गिन बनाउन तत्पर हुन्थे। मलाई पनि साथीहरुको कुराले बेला बेला उचाल्थ्यो अनी घर सम्झिदै थेचारिन्थे। सिमित तलबमा घर धान्नुपर्ने म जस्ता श्रमिकका लागि खाडी नरक बनेर उभिएको थियो। हुन त म भन्दा कम्ती तलब हुने पनि हप्ताभरी काम गर्थे अनी ऋण खोजेर रातको दुईतीन सय खर्च गर्न पछी पर्दैनथे। अरु जस्तो घर पैसा पठाउन छोडेर गैह्रजिम्मेवार बन्न मैले सकिन। फेरी नगरबधुहरुसँग संपर्क बढाउनु भनेको आत्मिय प्रेम बिनाको सम्बन्ध हो-ले मलाई अनावश्यक खर्च गराउनबाट सधैं बञ्चित गरायो। तर पनि मलाई त्यस्ता गतिबिधी नजिक बाट नियाल्न र कुरा सुन्ने उत्सुकता भने सधैं रहन्थ्यो।   

Friday, November 11, 2011

'म अमेजन उकालो बग्छु'-एक पाठकको आँखामा -By Ramesh Kandel

अब उप्रान्त म 'म' नै बाँच्छु-
म 'बग्छु, र 'बाँच्छु' 'अमेजन नदी' 
खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो 

Thursday, November 10, 2011

अबचेतन मनभित्रको एउटा प्रश्न -By Ramesh Kandel

साखुल्ले जीवनका पन्नाहरु
निबृतिले भरिएका मनफुलहरु 
अन्तस्करणभित्र पहिरोले थिचिदै गर्दा 
निरोको धुनमा राष्ट्रप्रेम झल्कला र? 

शब्दहरु भित्र आफैलाई निख्लम 
सत्यको बिहङगम पर्दाले ढाकिरहेकै बेला 
अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।


ढाकरहरुले हस्तिनापुरको फेदिबाट 
आफ्नो जिजिबिषाको जोहो गर्दै गर्दा 
भ्यागुते उफ्राइले मेरो माटो समुन्नत होला?
परचक्री पिडा र अतित उद् बोधन भित्र 
आफैलाइ बन्दी बनाउन बिबश मनफुलहरु 
जाग्छन शब्दमा र मुर्च्छित हुन्छन मरुभुमिमा 
मुर्च्छना र जाग्रत भावले राष्ट्र बन्ला?


एउटा सिमान्तकृत क्षेत्रभित्र कैद 
कैद गरिएका/गराईएका मनफुलहरु 
बन्दी क्षेत्रबाट उन्मुक्त भावनाहरु 
खुल्ने, फुल्ने र घुल्ने रोगले ग्रसित 
अनी प्रताडित छ मेरो कित्ता मेरो माटो 


'म' र 'मेरो'को अस्तित्वबाट अबिचलित 
'हामी'र 'हाम्रो' बनाउन सकेन 'गीता'ले 
यि र यस्ता रोगले एक कदम अघी नबढ्दा 
शाब्दिक धरातलमा मात्रै राष्ट्रप्रेम बढ्ला र?
अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।


मैले देखेको सपना 'म'बाट 'हामी' भएकै दिन 
हामी हाम्रो समाज आफै बनाउन तल्लिन हुनेछौ। 
आरोप-प्रत्यारोपको शृंखलाहरु आफै बन्द गर्नेछौ।
समतामुलक समाजको बिनिर्माण गर्नेछौ। 
हो, त्यही दिन मेरो प्रश्नको अन्त्य हुनेछ।   
हामी र हाम्रो परिवर्तनको सपना साकार हुनेछ। 

Sunday, October 30, 2011

सयपत्री संसार

लोपोन्मुख प्रजातिको यो सयपत्री फुललाई मैले घर वरीपरी फुलाउन पाउँदा गौरवान्वित भएको छु, तपाईं पनि यसरी नै  लोपोन्मुख वस्तुको संरक्षणमा  लाग्ने हैन।

जीवन

ढुङ्गाको भारिमा आफ्नो जीवन खोज्दै यि भरिया 

दोलखाका थामी जातिहरुको मुख्य आयश्रोत भनेकै बर्ष भरी ढुङ्गा बोकेर गर्जो टार्नु, तर आजकाल उनिहरुको जीवनस्तरमा बैदेशिक रोजगारले महत्वपूर्ण परिवर्तन ल्याईदिएको छ। कठिन परिश्रममा भिजेका यिनिहरु खाडी तथा मलेशियामा पनि सहजै आफुलाई त्यहाँको परीवेशमा ढाल्न सक्षम पनि छन।  

Friday, April 22, 2011

चैतन्य बोधको नाट्यशाला

मैले देखेका सपनाहरु
उछिट्टियर सडक भरी पोखिदै गर्दा
त्यहि संगाल्न कहीले यता उता
भौतारिरहेको यो मन
दासताबाट छलाङ्ग मार्न नसकेर
क्षितिज पारी अस्ताउनै लागेछ/

तर पनि

विश्वासको पूल तयार गर्दै
दुर्बोधी उकालो चढ्न
सामाल तुमल जोड जाम गर्दैछु

आश्बासनका पोकाहरु
नेपथ्यमा झुल्छन, झर्छन
नियमित प्रक्रिया र संगतिमा
अल्झेको मेरो बगैचाको मन फूल
अद्र्श्य शक्तिले मुर्झाउछ छिन् छिन्

त्यसैले त आजकाल म
निराशाको फलैंचामा बसेर
आशाका बत्ति निभाउँछु घरी घरी

किनकी यहाँ सबैलाई हँसाउने
एकान्तमा बसेर रुन वाध्य छन्
अस्ति हरिबंश रोए, हिजो राम बहादुर
एबंम रितले  मैले पनि आखिर रुनु नै छ

अनी कसरी लेखुँ आशाका शब्दहरु
कसरी जलाउँ परिबर्तनका चिरागहरु

तर पनि मैले नाटक गर्नु पर्छ
सबैलाई खुशि बनाउन मैले हाँस्नु पर्छ
बलिदान दिएर सफलताको शब्द कोर्नु पर्छ
आउ अब संगै बसी नयाँ कथा लेख्नु पर्छ
एक अर्को नयाँ नाटक मन्चन गर्नु पर्छ/

Monday, April 11, 2011

सम्यक बिचिन्तनाको मनमाधुर्यता


सौन्द्रर्य चेतनका अवशेष
मन माधुर्यताका बशमा
उष्णताका छालहरु
अधैर्यता अनि अर्थहिन
गाम बेशिमा लुकामारी खेल्छ


अक्षरहरुको साम्राज्य बन्छ
बनाउनु चेतले कल्पेको कुरा
तासका महल नबनाउनु
ति ढल्दा तिमी सडकमा हुन्छौ

पौरखी बाहुपासले
बिचारलाई फनफनी बेर्नु
र एक मुठ्ठी लक्ष बोक्दै
उकालो चढ्नु समदर्शी रंगमा
सम्यकताले तिम्रो भारी हलुका हुन्छ ।

म अधैर्य छुइन र हुन्न
तिम्रो पर्खाइमा बाटो कुर्छु
पूर्खाले बिसौनि बनाएका छन
थकाइ लागे मन बिसाउ बिसौनिमा/

मनले जब थकान मेट्नेछ
स्वस्फुर्त जिवनको रंग कोर्छ
रंगहरुsanga यात्रा लयबद्द गर्नु
लक्ष्य बिन्दुमा नयन टिकाइ
कठिन लाग्ने यात्रा सहज पुरा गर्नु
त्यही बिन्दुमा हाम्रो सम्मिलन हुनेछ
र नयाँ युगको खाका तय गर्नेछौ ।

रमेश कंडेल 

उपहार

सामुन्द्रीक छालहरुमा
घोर लघुताभाषले खुम्चिएको म
स्मृतिको पानामा टोटलिन्छु

चिमोटिन्छु, दुख्छु, पोलिन्छु



प्रेम गर्नु र प्रेमको कविता लेख्नु उस्तै लाग्छन

दुरुहपथमा चल्नु भन्दा कठिन
यथार्थबोधको अचेटाईले
मन मन्दिरको मान मर्दन हुन्छ
अतितमा पुगेर बर्तमानमा पछारिन्छ।

मौनताभाषमा अल्झेको मेरो मनको बगैंचा

कहिले ईलाम, कहिले सभागृह, कहिले स्वयंम्भु
न्युरोड र असनका चमेनाघरमा आश्रय लिन्छ

तिम्रा मोती जस्ता आँशु र मूल्यहिन मेरो जीवन

कैयन पटक अतृप्त प्यास लिएर मरेको छ
नयनले नयनको भाषा बुझेको भए
यती बिघ्न स्मृतिमा छाउदिन थियौ होला
तिम्रो सम्झना गहिरो घाऊ बन्दैन थियो होला

तर,


श्रीअन्तुको पहिलो किरण तिमीलाई छोई

तिम्रो स्पर्शतित किरण म कहाँ आउँदा
मैले मेरो मनको बगैंचामा फुलेको
पैयूँ फुलसँग एउटा सुन्दर सपना देखे
तिमीले मेरो मुस्कान उपहार दिन भन्यौ
तिम्रै आग्रह शिरोपर गर्दै मुस्काउदैछु अबिरल ।





@रमेश कंडेल