शरद ऋतुमा केही शितलताको अनुभव हुँदैथ्यो। त्यसैले होला मलाई अलिक घुम्न मन लाग्यो र मेरो साथीलाई फोन गरेर आज भेट्न आउने कुरा बताएर अफिसतिर लागेँ। मरुभुमिका उराठलाग्दा द्रिश्यहरु बिच मैले आफुलाई सहज बनाउदै लगेको थिएँ। परदेशमा अधिक समय आफ्नै मातृभूमीको यादले सताउछ, त्यसबाट म पनि अछुतो रहन सकिन। त्यसैले पनि म नेपाली भने पछी भुतुक्कै हुन्थे। अझ आफ्नै गाउँका मान्छे भेट्न पाउनुको आनन्द बेग्लै हुन्छ। यस्तै मिठा अनुभुती संगाल्दै दिन बित्दै गयो। म बसेको ठाउँलाई सनैया भनिन्थ्यो। जहाँ हरियालीको सानो अंश पनि देख्न पाईन्नथ्यो। औद्योगिक क्षेत्रलाई अरबिमा सनैया भनिन्छ। यसलाई श्रमशिविर भन्दा पनि फरक पर्दैन। केटी मान्छे र अलिकती हरियो देख्न शहर नै पुग्नुपर्ने, त्यसैले होला यौन भावना अलिक बढी नै हावी हुन पुग्थ्यो। कतिपय साथीहरु बिहीवार आयो कि दुबइको रात्रीलाई रङ्गिन बनाउन तत्पर हुन्थे। मलाई पनि साथीहरुको कुराले बेला बेला उचाल्थ्यो अनी घर सम्झिदै थेचारिन्थे। सिमित तलबमा घर धान्नुपर्ने म जस्ता श्रमिकका लागि खाडी नरक बनेर उभिएको थियो। हुन त म भन्दा कम्ती तलब हुने पनि हप्ताभरी काम गर्थे अनी ऋण खोजेर रातको दुईतीन सय खर्च गर्न पछी पर्दैनथे। अरु जस्तो घर पैसा पठाउन छोडेर गैह्रजिम्मेवार बन्न मैले सकिन। फेरी नगरबधुहरुसँग संपर्क बढाउनु भनेको आत्मिय प्रेम बिनाको सम्बन्ध हो-ले मलाई अनावश्यक खर्च गराउनबाट सधैं बञ्चित गरायो। तर पनि मलाई त्यस्ता गतिबिधी नजिक बाट नियाल्न र कुरा सुन्ने उत्सुकता भने सधैं रहन्थ्यो।
No comments:
Post a Comment